कैलाली। सुदुरपश्चिमका तराईका जिल्लामा लामो समयदेखि पानी नपरेर गर्मी बढ्दो छ। सुदुरपश्चिमका तराईका कैलाली र कञ्चनपुर जिल्लामा साउन अन्तिम सातापछि वर्षा नहुँदा गर्मी बढेको छ। लामो समयदेखि पानी नपर्दा गर्मी बढ्नुका साथै खेतीपातीसमेत प्रभावित हुन थालेको स्थानियहरु बताउँछन्।
धनगढी ३ का किसान दिपक चौधरीले नियमित बर्षा नभएपछि खडेरीका कारण खेतमा धानका बोट सुक्न थालेको बताए। जलवायु तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाले आइतबार यहाँको तापक्रम ३५ दशमलव ९ डिग्री सेल्सियस रह्यो । बर्खामै पानी नपर्दा प्रतिदिन गर्मी बढ्दो छ । अगस्ट २६ मा फाटफुट वर्षा भएको र त्यसयता वर्षा नभएको फिल्ड कार्यालयका मौसम विज्ञान सहायक सिंगल चौधरीले बताए ।
यस क्षेत्रमा साउन अन्तिम साता दुई, तीन दिन नियमित वर्षा भएपनी पछिल्लो दुई साता राम्ररी वर्षा नभएको बताए। कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख हरिदत्त जोशीले लामो खडेरीले धानबाली प्रभावित हुन थालेको बताए । वर्षा नहुँदा धानबालीमा गबारो, फड्के किरालगायत रोग देखिन थालेको जानकारी दिए। धान पसाउने समय सुरु भएकाले यतिबेला खेतमा पानी चाहिने र यसै बेला खेत सुक्खा हुँदा किसान चिन्तामा रहेको जानकारी दिए। ज्ञान केन्द्र प्रमुख जोशीका अनुसार सिँचाइ सुविधा भएको क्षेत्रका किसान नहरबाट वा भूमिगत स्रोतबाट खेतमा पानीको व्यवस्था गरिरहेको छ।अहिले रोग लागेका धानका बोट लिएर दैनिक १०/१५ जना किसान ज्ञान केन्द्रमा पुगिरहेका छन् ।
धेरैजसोको धानमा गबारो रोगकै प्रकोप देखिएकोले साता दिनसम्म अझै वर्षा नभए धान बालीमा अझै क्षति हुन सक्ने जोशीको भनाई छ। कञ्चनपुरमा करिब ५० हजार हेक्टरमा धान खेती गरिन्छ। यहाँ धानको उत्पादकत्व प्रतिहेक्टर साढे ३ टन छ । कैलालीमा करिब ७० हजार हेक्टर जमिनमा धानखेती हुने गरेको छ। ज्ञान केन्द्रका अनुसार प्रतिहेक्टर औषत ४५ क्वीन्टल धान उत्पादन हुने गरेको छ। यसैगरी लामो खडेरीका कारण धानमा गबारोदेखि फड्के किराको प्रकोप बढ्दा धानको उत्पादकत्व घट्ने अनुमान गरिएको छ। सामान्यतया जुन १० देखि मनसुन सुरु हुनुपर्ने हो। तर सुदूरपश्चिममा १४ दिन ढिला गरी जुन २४ मा सुरु भयो, जसका कारण रोपाइँ गर्न पनि ढिलो भयो। फिल्ड सहायक चौधरीले अझै एक साता अझै वर्षा हुने सम्भावना नरहेको र मनसुनी वायु न्यून चापीय रेखामा पुगेपछि मात्रै वर्षा हुने भएकाले समय लाग्ने बताए।