धनगढी। कैलालीको त्रिनगर भन्सार नाकामा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय कर्मचारीविहीनपछि आयात ठप्प बनेको छ। कर्मचारीविहीन भएपछि करिब २० दिनदेखि भारतबाट आउने खाद्यान्न, तरकारी तथा फलफूलको आयात ठप्प भएको भन्सार कार्यालय कैलालीले जनाएको छ।
कैलालीको प्रमुख भन्सार अधिकृत राजेन्द्र हमालले प्लान्ट क्वारेन्टाइनका प्राविधिक कर्मचारी पढाइका लागि बाहिर गएकाले कर्मचारीविहीन भएको बताए। त्रिनगर नाकाबाट खाद्यान्न, तरकारी र फलफूल प्लान्ट क्वारेन्टाइनले पास नगर्दासम्म भन्सारबाट पठाउन नपाइने उनले बताए। प्लान्ट क्वारेन्टाइन कार्यालयले त्रिनगर नाकाबाट आयात हुने खाद्यान्न,तरकारी र फलफूलमा किराजन्य संक्रमण चेकजाँच गर्दै आएको छ।खाद्य प्रविधिको जाँच गरेपछि प्लान्ट क्वारेन्टाइनले किराजन्य संक्रमणको जाँच गरेपछि मात्रै खाद्यान्न, तरकारी र फलफूलजन्य वस्तु त्रिनगर नाका भएर भित्र्याउने गरिएको छ।
कैलालीको त्रिनगर नाका भएर भारतबाट आउने खाद्यान्न, तरकारी र फलफूल आयात बन्द हुँदा उपभोक्ता तथा व्यवसायी महङ्गीको मारमा पर्ने देखीएका छन् । प्लान्ट क्वारेन्टाइन कार्यालय संघीय सरकारको मातहतको निकाय हो । सीमा नाकामा सरकारले प्लान्ट,पशु र खाद्य क्वारेन्टाइन कार्यालय खोलेको हो। प्लान्ट क्वारेन्इईनले खाद्यान्न, तरकारी र फलफूलमा भएको रोग तथा किरा परीक्षण गर्छ । सोही नाकाहुँदै ठूलो परिमाणको तरकारी, फलफूल, चामल, दाल, बदाम, तोरी, पशुआहार, मकै र गहुँ भारत तथा तेस्रो मुलुकबाट समेत आयात हुने गरेको छ।
तीन वर्ष अगाडि स्थापना गरिएको प्लान्ट क्वारेन्टाइन टुरमुकाम कार्यालय साउन २८ गतेदेखि बन्द रहेको छ।आज शुक्रवार कैलाली उद्योग वाणिज्य संघले टुरमुकाम कार्यालय बन्द नगर्न र नहटाउन जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो। कैलाली भन्सार भएर भारतबाट आउने खाद्यान्न, फलफूल र तरकारीको विषादी र किराको परीक्षण गरेर निकासी र पैठारीको इजाजत दिने काम टुरमुकाम कार्यालयले गर्दै आएको थियो।यस्तै सुदूरपश्चिमका लागि प्लान्ट क्वारेन्टाइनको मुख्य कार्यालय कञ्चनपुरको गड्डाचौकी-बनबासा नाकाबाट सामान आयात गर्नका लागि भारतले शारदा नदीको पुलमा बढी भार भएका मालबाहक साधन आउन दिने गरेको छैन्।
उता नेपालगञ्जको रुपेडिहा नाका भएर आयात गरे प्रदेशको राजश्वमा पनि कमी आउने र खाद्यान्न, तरकारी र फलफूलको मुल्य पनि बढने व्यवसायीहरुले बताएका छन्। प्लान्ट क्वारेन्टाइनमा २० दिनदेखि प्राविधिक नहुँदा नेपालगञ्जको नाका प्रयोग गर्नुपर्दा त्यहाँबाट किलोमा १० रुपैयाँ ढुवानी खर्च बढ्ने गरेको छ। धनगढीका व्यवसायी मनोज अग्रवालले खाद्यान्न, तरकारी र फलफूलजन्य सामानको आयात बढी हुने समयमा सरकारको लापरवाहीले व्यवसायी र उपभोक्ता मारमा परेको बताए।
कैलाली भन्सार कार्यालयले नाकाबाट मासिक २० करोडको मुख्य वस्तु नै आयात खाद्यान्न, तरकारी र फलफूल राजश्व संकलन नहुने बताएको छ ।कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले
त्रिनगर नाकाबाट भारत र तेस्रो मुलुकबाट समेत खाद्यान्न, तरकारी र फलफूलजन्य सामानको आयात भैरहेको अवस्थामा प्लान्ट क्वारेन्टाइन कार्यालय बन्द हुँदा ति बस्तुको मुल्य बढने बताए । यस्ले व्यवसायीले नेपालगञ्ज नाकाको प्रयोग गरेर ल्याएपनि उपभोक्ता मर्कामा पर्ने र यस्को असर उपभोक्ता सम्म पर्ने उनको भनाई छ। बन्द भएको लामो समय भएपनि कुनै पहल नभएको र उद्योगी व्यवसायीहरुले प्रदेशका मुख्यमन्त्री, प्रमुख जिल्ला अधिकारीसहितका निकायमा क्वारेन्टाइन सञ्चालनको माग गरेको उनले बताए।