धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका–३, बडहरामा निर्माण गरिएको होल्डिङ सेन्टरको वैकल्पिक प्रयोग हुन सकेको छैन् । कोरोना महामारीमा निर्माण गरिएको होल्डिङ सेन्टरलाई अन्य प्रयोजनमा प्रयोग गर्न सकिने सम्भावना भए पनि सम्बन्धित निकायले प्रयोगमा ल्याउन नसकेको हो ।
कोरोना सङ्क्रमितसहित भारतबाट फर्केकालाई राख्ने उद्देश्यले सो होल्डिङ सेन्टर निर्माण गरिएको थियो। होल्डिङ सेन्टरलाई अब के बनाउने भन्ने टुङ्गो लाग्न नसक्दा प्रयोगमा आउन नसकेको हो। २०७८ साल जेठमा निर्माण सकिएको एक हजार शय्याको होल्डिङ सेन्टर एक वर्षभन्दा बढी समयदेखि उपयोगविहीन छ। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले होल्डिङ सेन्टरका लागि बनेको संरचना प्रयोग गर्ने सवालमा अझै पनि कुनै टुङ्गो लाग्न नसकेको जानकारी दिए ।
उनले प्रयोगको सवालमा कसको जिम्मामा रहने, के बनाउने भन्ने केही टुङ्गो नलागेकाले नेपाली सेनाको मातहतमै रहेको बताए । कोरोना महामारीको बेला सङ्घीय सरकारको २८ करोड ८१ लाख १२ हजार रुपियाँ लगानीमा निर्माण गरिएको होल्डिङ सेन्टर हस्तान्तरण नभइसकेको बताए ।
अहिले नेपालसहित विश्वमा कोरोना सङ्क्रमण नभएकाले सङ्क्रमित ब्यक्तीलाई राख्नका लागि बनाइएको ठुलो लगानीको संरचना अलपत्र बनेको छ। धनगढीस्थित नेपाली सेनाको भवानी दल गणको अनुगमन र व्यवस्थापनमा बनेकाले होल्डिङ सेन्टरको रेखदेख नेपाली सेनाले नै गर्दै आएको छ। २०७८ साल असार ३ मा निर्माणको ठेक्का पाएर हनुमान कन्स्ट्रक्सनले होल्डिङ सेन्टर बनाएको हो। बडहरास्थित सामुदायिक वन क्षेत्रमा बनेको होल्डिङ सेन्टरमा २२ वटा क्वारेन्टाइन, २२ वटा चर्पी र १५ वटा डाइनिङ हलसहितको भान्सा कोठा रहेका छन्।
धनगढी उपमहानगरपालिका–३ का वडा अध्यक्ष राजबहादुर ऐरले निर्माण पूरा भएको एक वर्षभन्दा बढी समय भइसक्दासम्म प्रयोगमा आउन नसकेको होल्डिङ सेन्टरको रङ खुइलिन थालेको बताए। होल्डिङ सेन्टर संरक्षणका लागि तटबन्ध निर्माण गर्न ठुलो बजेट आवश्यक पर्ने भन्दै उनले संरक्षण र प्रयोग नगरिए राज्यको लगानी खेर जाने बताए । बनेका संरचनाको संरक्षण गर्न आवश्यक रहेको उनको भनाई छ । उनले पश्चिमतिर मोहना नदीले कटान गर्न सक्ने खतरा रहेकोले तटबन्ध गरेर संरक्षण गरिनुपर्ने सुझाब दिए ।