काठमाडौँ। जिल्ला अदालत काठमाडौँले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरापुत्र राहुललाई भेपमा सुन लुकाएर तस्करी गरेको प्रकरणमा ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
संगठित सुन तस्करी मुद्दामा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले सुरुमा अदालतबाट पाँच दिनको म्याद पाएको हो। संगठित अपराधमा प्रहरीले ६० दिनसम्म म्याद लिएर अनुसन्धान गर्न पाउँछ । यसअघि पक्राउ परेकाहरुविरुद्ध भने प्रहरीले सरकारको नियन्त्रणमा भएको सम्पत्ति चोरी गरेर विश्वास घात गरेको भन्ने आरोपमा मुद्दा चलाएको थियो। पक्राउ परेकाहरुले विमानस्थल भन्सारले बरामद गरेको भेपको सुन लगेको खुलेपछि पक्राउ परेर मुद्दा चलेको थियो।
२०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनको छोरा राहुलको सम्पर्क देखिएको थियो ।सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग उनीहरूको सम्पर्क देखिएको हो। केन्द्रीय अनुसन्धान ब्यूरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर बयान समेत नगराएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो। पूर्वसभामुख महराले सुन तस्करीसम्बन्धमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताउँदै आएका छन्। चिनियाँ नागरिक वाङलाई फलफूल व्यापारीका रुपमामात्र चिनेको बताएका उनले सुन तस्करी प्रकरणमा बिनाकारण आफ्नो नाम मुछिएको आरोप लगाएका छन्।