धनगढी। कैलालीमा जंगलभित्र वडा भवन निर्माणमा खटिएका ६ मजदुर पक्राउ परेका छन् । वन कार्यालयले कैलालीको गोदावरी नगरपालिका वडा नं ४ को भवन निर्माण गरिरहेका ६ जना मजदुरलाई पक्राउ गरेको जनाएको छ।
गोदावरी नगरपालिकास्थीत खैराना महिला सामुदायिक वनभित्र गोदावरी नगरपालिका वडा नं ४ को भवन निर्माणमा काम गरिरहेका गोदावरी नपा ६ का कज्जु चौधरी, गौरव चौधरी, दिपक चौधरी, विशाल चौधरी र बुझाइने चौधरीलाई वन कार्यालयले पक्राउ गरेको हो। अत्तरीया वन सवडिभिजनका प्रमुख निरन्जन पडालले जंगलभित्र भवन निर्माण बन्द गर्न सामुदायिक वनलाई पत्राचार गर्दा पनि अटेर गरी निर्माण जारी राखेपछि पक्राउ गरिएको हो।
वन सवडिभिजनका प्रमुख निरन्जन पडालले यसअघि राति जंगलभित्र वडा भवनको जग हाल्ने काम भएको बताए । उनले जंगलभित्र वडा भवनको जग हाल्ने काम भएको जानकारी पाउनेबित्तिकै सामुदायिक वनलाई पत्राचार गरिएको बताए। गोदावरी नगरपालिकाले सर्वदलीय सर्वपक्षीय भेला गरी सामुदायिक वनभित्र वडा भवन बनाउने निर्णय गरेको थियो । नगरपालिकाले एक करोड ३५ लाखमा टेण्डर नै आहृवान गरी भवन निर्माण सुरु गरेको थियो।
१ करोड ३५ लाखमा आहृवान गरिएको टेण्ड ८६ लाखमा सदर गरी भवन निर्माण सुरु भएको हो। राजनैतिक दबाबमा नगरपालिकाले जबर्जस्ती जंगलभित्र भवन निर्माण सुरु गरेपछि स्थानीय उपभोक्ताहरुले विरोध जनाएका थिए । वन कार्यालयले भवन बनाउन लगाउने नगरपालिका, वडासँग पत्राचार भने नगरेको बताइएको छ। गोदावरी नगरका स्थानीय रमेश खड्काले मजदुरलाई पक्राउ गरेपनी वास्तविक अपराधीका विषयमा वन कार्यालय मौन रहेको बताए । तर गोदावरी नगरपालिकाले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन। लामो समयदेखि स्थानीय तहको मिलोमतोमा अत्तरीया क्षेत्रमा व्यापक वन अतिक्रमण भइरहेको उनले बताएका छन् । सव डिभिजन प्रमुख पडालले जंगलभित्र भौतिक संरचना निर्माण गर्न नपाइने बताए। जंगलभित्र वडा भवन निर्माणको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।