धनगढी। समाजवादी मोर्चा नेपालको सुदूरपश्चिम प्रदेशस्तरीय भेला भोली बुधबार धनगढीमा हुने भएको छ। सन्देश सभा नाम दिएको उक्त प्रदेशस्तरीय सभाको तयारी पूरा भएको आज धनगढीमा पत्रकार सम्मेलन गर्दै समाजवादी मोर्चाले जानकारी दिएको हो।
सभालाई चारदलका नेताहरुले सम्बोधन गर्ने जनाइएको छ। सन्देश सभालाई माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव सी र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिए।
पत्रकार सम्मेलनमा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहले समाजवाद स्थापना गर्न,संविधानको कार्यान्वन गर्न लगायतका लक्ष्य लिएर गठित समाजवादी मोर्चाको सुदूरपश्चिम स्तरीय मोर्चा समेत घोषणा हुने बताइन्। उनले कार्यक्रममा पहाडी जिल्लाका जिल्ला कमिटी र कैलाली कञ्चनपुरका पालिका कमिटी भन्दा माथिल्ला कमिटीबाट कार्यक्रममा सहभागिता रहने बताइन्।
नेकपा माओवादी केन्द्रका प्रदेश सचिव जनक बुढाले समाजवादी लक्ष्यलाई आधार मानेर समाजवादी शक्तिको समाजवादी मोर्चा गठन भएको भन्दै यो उत्साह र खुशि सबै माँझ पुर्याउन सन्देश सभा हुन लागेको बताए । उनले सन्देश सभामा माओवादी केन्द्रबाट मात्रै ५ सयको हाराहारीमा उपस्थिति रहने दाबी गरे। पत्रकार सम्मेलनमा नेकपाका भगतसिंह सी, जसपाका भक्तमान थारुको उपस्थिति रहेको थियो । सन्देश सभामा प्रदेशभरीबाट आठ सयदेखि एक हजार जना सहभागि हुने तथा कार्यक्रमको संयोजन नेकपा एकीकृत समाजवादीले गर्ने जनाइएको छ।