कञ्चनपुर। कञ्चनपुरका विद्यालयहरू शिक्षक तथा लेखापालमाथि कुटपिट गर्नेमाथि कारबाहीको माग गर्दै तीन दिनदेखि बन्द रहेका छन् । गत आइतबारदेखि सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द रहेका हुन्।
आइतबारको दिन भीमदत्त नगरपालिका भित्रका सामुदायिक विद्यालय मात्रै बन्द आह्वान गरिएको थियो । तर, मागप्रति स्थानीय प्रशासन मौन बसेको भन्दै सोमबारदेखि जिल्लाभरकै सामुदायिक र निजी विद्यालय बन्द आह्वान गरिएको हो । विद्यालय बन्द आह्वान गर्दै शिक्षक कर्मचारीहरू तीन दिनदेखि सडकमा आन्दोलन गर्दै आएका छन् ।
भदौ ३ गते यौन दुर्व्यवहार आरोप लागेका शिक्षक विरेन्द्र प्रसाद जोशीमाथि विद्यालय प्रांगणमै कुटपिट भएको थियो । प्रहरी नियन्त्रणमा रहेका जोशीमाथि सामूहिक रूपमा ढुंगामुढा प्रहार हुनुका साथै कुटपिट गरिएको थियो । भीमदत्त नगरपालिका १० जिमुवामा रहेको शिद्धनाथ माविका शिक्षक जोशीमाथि कक्षा १० मा अध्ययनरत छात्राले आफ्नो संवेदनशील अंग समातेको आरोप लगाएकी थिइन् ।
उक्त आरोपपछि शिक्षक जोशीमाथि कारबाहीको माग गर्दै भदौ ३ गते विद्यालयमा विद्यार्थी, अभिभावक तथा स्थानीयले विरोध प्रदर्शन गरेका थिए ।प्रदर्शनकै क्रममा प्रहरीको टोलीले शिक्षक जोशीलाई नियन्त्रणमा लिएको थियो । अफिसबाटै हतकडी लगाएर प्रहरीले आफ्नो भ्यानमा लैजाने क्रममा उनीमाथि निर्घात कुटपिट भएको थियो ।विद्यालय तथा शिक्षक कर्मचारीहरूले जिल्लास्तरको आन्दोलन परिचालन समिति बनाएर आन्दोलन गर्दै आएका छन् ।
शिक्षकमाथि कुटपिट गर्नेलाई कारबाही गर्नुपर्ने, शिक्षकमाथि लागेको आरोपको छानबिन हुनुपर्ने, लापरबाही गर्ने प्रहरी अधिकारीमाथि कारबाही गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका हुन् । उनीहरूले मंगलबार जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गर्नुका साथै धर्ना दिएका छन् ।जिल्ला प्रशासन कार्यालयले भने आन्दोलनरत शिक्षकहरूलाई वार्ताको लागि बोलाएको छ । वार्ता र आन्दोलनका कार्यक्रम सँगसँगै अघि बढिरहेको उनीहरूको भनाई छ । शिक्षक कर्मचारीहरूले थालेको आन्दोलनमा निजी विद्यालय सञ्चालकहरूले समेत ऐक्यबद्धता जनाएका छन् । उनीहरूले समेत सम्पूर्ण संस्थागत विद्यालय बन्द आह्वान गरेका हुन् ।
नेपाल शिक्षक महासंघ जिल्लास्तरीय आन्दोलन परिचालन समिति मार्फत आन्दोलन हुँदै आएको हो । आरोपपछि विद्यालयमा नाराजुलुस र ढुंगामुढा प्रहार गर्न लागेपछि जिल्ला प्रहरी कार्यालयबाट सुरक्षार्थ प्रहरी टोली खटाइएको थियो । जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक सीताराम विष्टको कमाण्डमा प्रहरी खटाएको हो ।उनको सुरक्षामा आरोपित शिक्षक जोशीलाई कार्यकक्षबाटै हतकडी लगाई २०० मिटरको दुरीमा रहेको प्रहरी भ्यानमा लगिएको थियो । त्यही बेला जोशीमाथि ढुङ्गामुढा, ईट र धारिलो हतियार प्रहार भएको हो । गम्भीर घाइते भएका जोशीको हाल धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ।