काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकापुर घटनामा अदालतले दोषी ठहर गरेका रेशम चौधरीलाई कानुन बमोजिम रिहा गरिएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले संविधानमा भएको व्यवस्था बमोजिम नै चौधरीलाई गणतन्त्र दिवसका दिन माफी दिइएको बताएका हुन्।‘सरकार मानव अधिकारको रक्षाका लागि निरन्तर प्रतिबद्ध छ। सरकारले अदालतको निर्णयको सम्मान गर्दै कार्यान्वयनमा तदारुकताका साथ पहल गर्दै आइरहेको छ।
संविधानको धारा २७६ मा राष्ट्रपतिले कानुन बमोजिम माफी मिनाहा गर्न सक्ने व्यवस्थाको जानकारी हामी सबैलाई छ। रेशम चौधरीले गृहमार्फत राष्ट्रपतिलाई निवेदन दिएकोमा महान्यायाधीवक्ता कार्यालयको रायका आधारमा प्रचलित कानुन बमोजिम उनलाई माफी गर्नका लागि सिफारिस गरिएको हो,’ उनले भने।
‘महान्यायाधिवक्ताको कार्यालयको राय समेतका आधारमा प्रचलित कानुन बमोजिम नै नेपाल सरकार, मन्त्रिपरिषद्बाट गणतन्त्र दिवस २०८० को सम्बन्धमा निजलाई माफी गर्न सिफारिस गरिएको प्रष्ट गर्न चाहन्छु,’ उनले भने ।०७२ मा थरूहट प्रदर्शनकारीबाट डेढ वर्षे बालक र ८ जना सुरक्षाकर्मी मारिएका थिए। उक्त घटनामा सर्वोच्च अदालत, कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले चौधरीलाई दोषी ठहर गरेको थियो। तर, सरकारले गणतन्त्र दिवसका अवसरमा चौधरीलाई आम माफी दिएको थियो।