दार्चुला। दार्चुलाको मालिकार्जुन गाउँपालिकामा मृत फेला परेकी ८० वर्षीया भागरथी चन्दको हत्या भएको खुलेको छ। मालिकार्जुन गाउँपालिका–७ टोपालि टोलकी भागरथी चन्दको घाँटी र छातीमा चक्कु प्रहार गरेर हत्या गरिएको स्थानीयहरूले बताएका छन्।
चन्दको घाँटी र छातीमा आठ दश वटा चक्कु प्रहार भएको देखिएको छ। उनको हत्या गरी घरभन्दा एक सय मिटर पर फालिएको अवस्थामा शव फेला परेको छ। शनिबारदेखि महिला फेला नपरेको भन्दै आफन्तले प्रहरी चौकीमा आइतबार निवेदन समेत दिएका थिए। मृतकका छोरा चक्रबहादुर चन्द आइतबार महेन्द्रनगरबाट घर पुगेपछि जनप्रतिनिधि र प्रहरीले ताला तोडेर घर भित्र पसेका थिए।
तर महिलाको शव घर बाहिर फालेको अवस्थामा फेला परेकाले हत्या भएको हुन सक्ने आशंका गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। मृतक चन्दको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ भने घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।