डोटी। सुदूरपश्चिमको पहाडी जिल्लाका बिमानस्थल बर्षौँ देखी जहाजको पर्खाइमा रहेका छन । पहाडी जिल्लामा करोडौं खर्च गरेर निमार्ण गरिएका विमानस्थल जहाजको पर्खाइमा रहेका हुन्।
तत्कालीन विद्रोही पक्ष माओवादीले ध्वस्त पारेका विमानस्थल माओवादी शान्ति प्रक्रियामा आएको लामो समय सम्म गौचरन बनेका थिए। सुदूरपश्चिमका नागरिकको लामो दबाबपछि पक्की धावनमार्ग सहित केही समय चाटर्ड उडान भएका विमानस्थलमा डोटीबाट निर्वाचित भएका प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बनेपछि भने केही महिना नियमित उडान भएका थिए । अहिले यहाँका विमानस्थलहरुमा जहाज उड्नुको साटो चराहरु उड्न थालेका छन्।
समिट एयरलाइन्स र नेपाल वायु सेवा निगमले यहाँको प्रदेश राजधानी कैलालीको धनगढीबाट डोटीको दिपायल, अछामको साँफेबगर,बझाङको देवल र बैतडीको पाटन विमानस्थलमा उडान भर्दै आएका थिए। समिट एयरलाइन्सले यात्रु अभाव र नेपाल वायु सेवा निगमले जहाज अभाव भन्दै उडान रोकेपछि नागरिकले पुनः बसको कष्टकर यात्रा गर्न बाध्य भएका छन् ।
दिपायल विमानस्थल-डोटीको दिपायल विमानस्थल २०२६ सालमा स्थापना भई पटक–पटक सञ्चालनमा आउँदै बन्द हुँदै गरेको छ। माओवादी आक्रमणबाटै २०५८ सालदेखि पूर्ण रुपमा बन्द रहेको यो विमानस्थल गौचरन र खेलमैदानमा परिणत भएको थियो। २०७३ सालमा नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नतिको काम अगाडि बढाएको थियो ।
कुल ६ करोड ८० लाख रुपैयाँको लागतमा ४९० मिटर लम्बाइ धावनमार्ग सहित कालोपत्रे भएको यो विमानस्थल २०७७ सालमा पुनः सञ्चालनमा आएको थियो ।आले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बनेपछि भने केही महिना नियमित उडान भएको यो विमानस्थलमा जहाज आउन अहिले पुनः बन्द भएको छ ।
साँफेबगर विमानस्थल अछाम- यसैगरी २०२४ सालमा निर्माण सुरु भएको साँफेबगर विमानस्थल २०३२ सालबाट सञ्चालनमा आएको थियो । २०४४ सालदेखि २०५८ सालसम्म साँफेबगर विमानस्थल निरन्तर सञ्चालन आएपनि २०५८ फाल्गुनमा माओवादीले ध्वस्त पारेसँगै पुनः बन्द भयो ।कुल ११ करोड ५० लाख रुपैयाँको लागतमा ५ सय मिटर लम्बाइ र २० मिटर चौडाइ भागमा कालोपत्रे गरि २०७५ जेठमा पुनः सञ्चालन भएको विमानस्थलमा केही समय जहाज आएपनि अहिले भने आउन छोडेको छ।
यात्रु अभाव देखाउँदै जहाज नआउने अछाममा अछामकै कमलजारमा कमलजार विमानस्थल निमार्ण भइरहेको छ । जहाज नआउँदा नागरिकले सास्ती पाउँदै आएका स्थानीयवासीहरु बताउँछन् । साँफेबगर नागरिक उड्यन कार्यालय प्रमुख बिजय पटेल दासले जहाजको आन्तरिक कारणले नआएको तर कार्यलयलाई कुनै आधिकारिक पत्र नआएको बताए ।
देवल विमानस्थल बझाङ- २०३२ साल देखि नियमित उडान भएको देवल विमानस्थलमा २०६६ सालबाट जिल्लामा सडक जोडिएसँगै नियमित उडान स्थगित गरिएको थियो । कुल ५ करोड ५० लाखको लागतमा ६ सय ५० मिटर धावनमार्ग कालोपत्रे भएपछि २०७७ सालमा पुनः सञ्चालन भएको विमानस्थलमा हाल यात्रु अभाव देखाउँदै जहाज आउन छोडेको छ।पाटन विमानस्थल बैतडी- २०३२ सालदेखि निर्माण सुरु भएको बैतडीको पाटन विमानस्थल २०३५ सालदेखि सञ्चालनमा आएको बैतडीको पाटन विमानस्थल २०५२ सालदेखि हवाई सेवा बन्द भयो । पछि २०५८ सालमा सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन विद्रोही माओवादीले बम हानेर विमानस्थलको कार्यालय र टावर पूर्ण रुपमा ध्वस्त भयो।
पुनः सञ्चालनको योजनासहित २०७३ सालमा ११ करोडको लागतमा बैतडी विमानस्थल कालोपत्रे गरेर सञ्चालनमा ल्याइएको भएपनि हवाई उडान भने लामो समयदेखि बन्द रहेको छ । २०७८ चैत १० गते समिट एयरले अन्तिम उडान भरेको थियो। त्यसयता पाटन–धनगढी कुनै उडान हुन सकेको छैन
गोकुलेश्वर विमानस्थल दार्चुला- २०५८ साल मंसिर ११ गते तत्कालीन विद्रोही नेकपा माओवादीले आगजनी गरेपछि बन्द भएको दार्चुलाको गोकुलेश्वर विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन । विमानस्थल सञ्चालनको लागी अहिले धावनमार्गको उचाई बढाउने काम भइरहेको छ ।डडेल्धुरा विमानस्थल- सुदूरपश्चिमका नौ जिल्ला मध्ये विमानस्थल नभएको जिल्ला हो डडेल्धुरा ।
पुर्वप्रधानमन्त्री शेरबहादुर जिल्लाको गृह जिल्ला समेत रहेको गृह जिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिका– १ पुइलेकमा विमानस्थल निर्माणका लागि ईआईएको काम समेत सकिएको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको काम अगाडी बढाउन गत वर्ष २५ लाख बजेट समेत विनियोजन गरेको थियो । देउवाले समेत निवार्चनको बेला डडेल्धुरा विमानस्थल बन्ने बताउनु भएका थियो तर अहिलेसम्म कुनै काम अगाडी बढ्न सकेको छैन । विमानस्थल चाँडो सञ्चालन हुनुपर्ने डडेल्धुरा बासीको माग छ। सुदूरका पहाडी जिल्लामा उडान बन्द गरेको समीट एयरलाईन्सले भाद्र ७ गते देखि हप्तामा २ दिन सोमबार र बिहिबार धनगढी बझाङ,धनगढी बाजुरा र धनगढी साँफेबगर भर्ने जनाएको छ ।