धनगढी। कैलालीको अत्तरियामा रहेको राष्ट्रिय वाणिज्य बैंकको टोकन मेसिन बिग्रिएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको छ । बैंकमा टोकन प्रणाली जडान भएपछि लाइनमा बस्नुपर्ने बाध्यता हटेको भएपनि मेसिन बिग्रिएपछि पुनः लाइन लाग्नुपर्ने अवस्था सृजना भएको हो ।
बैंकका सेवाग्राही कृष्ण विश्वकर्माले बैंकमा टोकन सिस्टम बिग्रिँदा निकै समस्या भएको बताए । उनले रकम झिक्नको लागि एक घण्टा सम्म उभिनुपर्ने बाध्यता रहेको बताए । ‘पहिले टोकन सिस्टम हुँदा सहज हुन्थ्यो । टोकन लिएर बैंकमा बसेर पनि पालो आउँदा सेवा लिन सकिन्थ्यो’ उनले भने ‘अहिले पैसा झिक्नको लागि लाइनमा बस्नैपर्ने बाध्यता छ । जसले गर्दा निकै समस्या भएको छ ।’
बैंकमा टोकन सिस्टम लाइन लाग्नुपर्ने झन्झट अन्त्य भएको थियो । हाल टोकन मेसिन बिग्रिएपछि सो सेवा बन्द भएको छ । जसले गर्दा ज्येष्ठ नागरिकले झनै सास्ती खेप्नु परिरहेको छ ।उता बैंक प्रशासनले बिग्रीएको मेसिन बनाउन धनगढी पठाएको भएपनि सामान नभेटिँदा मर्मतमा ढिलाई भएको जनाएको छ । मेसिनका सामान काठमाण्डौबाट ल्याएर तुरुन्तै सञ्चालन गरिने बैंकले जनाएको छ ।