धनगढी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगर कञ्चनपुरमा अनियमितताका २ सय उजुरी दर्ता भएका छन्। चालु आर्थिक वर्ष २०८०/८१ सुरु भएको पहिलो साउन महिनामा र भदौको पहिलो एक हप्तामा आर्थिक अनियमितताका सो संख्यामा उजुरी दर्ता भएका हुन्।
पहिलो साउन महिनामा अख्तियार आयोगको कार्यालय महेन्द्रनगरमा हुलाक सेवाबाट ६४, लिखीत निवेदन ४०, टेलिफोनबाट १६, ईमेलबाट ४१, सिडियो र समाचार पत्रबाट ३/३ तथा अन्य स्रोतबाट ६ गरी १ सय ७३ आर्थिक अनियमितता विरुद्धका उजुरी दर्ता भएका थिए। त्यस्तै भदौ महिनाको पहिलो सातामै थप २७ उजुरी दर्ता भएको आयोगको कार्यालयको तथ्यांकले देखाएको छ।
हुलाक सेवाबाट २, लिखीत निवेदन १८, ईमेलबाट ४ सिडियो मार्फत १ र अन्य स्रोतबाट २ गरी उक्त संख्यामा उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरका सूचना अधिकारी तथा लेखा अधिकृत बसन्त बहादुर शाहीले बताए। चालु आर्थिक वर्ष सुरु भएसँगै उजुरीकर्ताले विभिन्न माध्यमको प्रयोग गर्दै एकपछि अर्को उजुरी दर्ता हुनेक्रम बढेको बताइएको छ। चालु आर्थिक वर्ष सुरु भएको डेढ महिना नपुग्दै यस्ता अनियमितताका दुई सय उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा दर्ता भएको पाइएको छ।
प्रदेशभित्र संघीय तथा प्रदेश मातहत सञ्चालित योजनाहरुमा समेत आर्थिक अनियमितता हुने गरेको विषयमा समेत कार्यालयमा उजुरी पर्ने गरेका छन्। यस्ता उजुरी सबैभन्दा बढी कैलालीबाट पर्ने गरेका छन्। अधिकारीहरुका अनुसार अख्तियारमा परेका कुल उजुरीमध्ये करिब ४० प्रतिशत उजुरी स्थानीय तहसँग सम्वन्धित हुने गरेका छन्। अधिकांश उजुरी स्थानीय तहसँग सम्वन्धिन रहेको कार्यालयले जनाएको छ। लिखित, इमेल, भाइबर तथा टेलिफोन लगायतको माध्यमबाट आफ्नो पालिकामा भइरहेका अनियमितता विरुद्धका उजुरी दिनेको संख्या बढ्दै गएको कार्यालयले जनाएको छ।कार्यालयमा परेका उजुरीमाथि छानबिन प्रक्रिया अघि बढाउने काम भइरहेको अधिकारीहरूले बताएका छन्। विभिन्न माध्यमबाट दैनिक उजुरी आउनेक्रम बढेकाले मुद्दाको प्रकृति हेरेर कारवाही प्रक्रिया अघि बढाउने बताइएको छ ।