दार्चुला। नौगाड गाउँपालिका–१ मा नागु र मानाकोट आसपास क्षेत्रमा लगाइएका स्याउ बँदेल लगायत जंगली जनावरले नोक्सानी गरेको छ । तीन र चार दिनदेखि मानाकोट, जात्रा भन्ने ठाउँहरुमा बँदेल र उदजस्ता जंगली जनावरले खाने तथा नोक्सानी गरेको स्थानीयले बताएका छन्।
नौगाड गाउँपालिका–१ मानाकोटका स्थानीय धनसिंह डडालको बारीमा फलेका स्याउमा अहिले बँदेलले सखाप पार्न थालेको बताए । करिब एक सातादेखि जंगली उद र केही दिनदेखि बँदेल लागेका छन् रुखमै चढेर स्याउ खाने तथा नोक्सान गर्ने गरेका छन् बँदेलले स्याउका बोट समेत भाँच्ने गरेको उनको भनाइ छ । केही वर्षदेखि व्यावसायिक रुपमा स्याउ उत्पादन थालिए पनि जंगली जनावरले नोक्सानी गर्न थालेपछि मेहनत खेर गएको उनले गुनासो गरे ।
धनसिंहका अनुसार स्याउ बारीमा रेड डेलिसियस, गाला, फुजी लगायत जातका स्याउ फलेका थिए । अर्का किसान करनसिंह डडालले स्याउबाट राम्रो आम्दानी गर्ने सोच बनाए पनि जंगली जनावरले नोक्सानी गरेकाले चिन्तित तुल्याएको बताए । ‘ठूलो मेहेनतका कारण यो वर्ष फल राम्रो थियो’, उनले भने, ‘फलेको फल जंगली जनावरले खाइसकेको छ ।’ स्याउ बारीमा रातदिन पहरा दिँदा समेत जंगली जनावरबाट बचाउन नसकिएको उनले बताए ।
नौगाड गाउपालिका–१ स्थित मानाकोट, नागु, लक्सरी र जात्रामा मात्रै यो सिजनमा १५ क्विन्टल बढी स्याउ उत्पादन हुने अनुमान गरिएको थियो । जंगली बँदेलले नष्ट गरेपछि अब उत्पादन घट्ने देखिएको छ । केही वर्षदेखि यहाँका स्थानीय किसान व्यवसायिक रुपमा स्याउ उत्पादनमा जुटेका थिए । जंगली जनावरको नोक्सानीबाट पीडित किसानलाई सरोकारवाला निकायले राहत दिनुपर्नेमा किसानले जोड दिएका छन्।
बँदेलले स्याउ नष्ट गरेपछि अहिले कृषि ज्ञान केन्द्र दार्चुला र पालिकाले क्षतिको विवरण संकलन गरिरहेका छन् । दार्चुलाको अपि हिमाल, ब्यास, नौगाड गाउँपालिकामा स्याउ उत्पादन राम्रो भइरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोन दार्चुलाका अनुसार जिल्लाभर अढाई सय हेक्टर बढी क्षेत्रफलमा स्याउ खेती भइरहेको छ । गाउँसम्म यातायातको पहुँच नहुँदा बजार र ढुवानीको समस्या झेल्नुपरेको किसानको गुनासो छ । दार्चुलाको मौसम सुहाउँदो इटाली, गाला, फुजी, रोयल, डेलिसियस, गोल्डन डेलिसियस लगायत जातका स्याउको उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।