कञ्चनपुर। कञ्चनपुरस्थीत नेपाली भूमिमा भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले दादागिरी देखाउँदै अस्थायी प्रहरी पोष्ट बनाएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडामा एसएसबीले अस्थायी प्रहरी पोष्ट निर्माण गरेको हो।
स्थानीय बाशुदेव जोशीले भुडाबाट भारतीय सिमा बजार कम्बोजनगर जाने बाटोस्थित नेपाली भूमिमा एसएसबीले ब्यारेल राखेको बताए। उनका अनुसार कोराना महामारीका बेला एसएसबी क्याम्प कम्बोजनगरले अस्थायी रुपमा त्यहाँ क्याम्प राखेको थियो।
‘अहिले नेपाली भूमिमा स्थायी रुपमै पोष्ट निर्माण गरेको छ। अस्थायी क्याम्प राख्दा स्थानीय र एसएसबीबिच विवाद समेत भएको थियो।,’ उनका अनुसार स्थानीयको बिरोधका बाबजुद एसएसबीले क्याम्प राखी नेपाली भूमि कब्जा गरेको छ। ७/८ महिनादेखि एसएसबीले ब्यारिएल लगाएको उनको भनाई छ। क्याम्प राखेको जमिन नेपालमा पर्ने भएपनि एसएसबीले उक्त भू–भाग भारतको भएको दाबी गर्दै आएको छ।
नेपाली भू–भागमा एसएसबीले क्याम्प राखेकोबारे नेपालको प्रशासन भने बेखबर छ। एसएसबीले नेपाली जमिनमा क्याम्प राखेकोबारे आफूलाई जानकारी नभएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले बताए। उनले नेपाली भूमिमा ब्यारिएल लगाउन नपाउँने बताउँदै सो बारे बुझेर आवश्यक पक्रिया अगाडी बढाउने बताएका छन् ।