कञ्चनपुर। कञ्चनपुर एक उद्योगको लापरबाहीका कारण किसानको २ सय बिघा धानबाली नष्ट भएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका २ दशरथ बस्तीमा रहेको भागेश्वर सुगरमिल एन्ड केमिकल्स इन्डष्ट्रिज प्रालिको लापरबाहीका कारण झन्डै दुई सय बिघा जमिनको धानखेती नष्ट भएको हो।
स्थानीयका अनुसार उद्योगको लापरबाहीले पुनर्वास नगरपालिका २, ५, ६ र ७ क्षेत्रका स्थानीय किसानको सिमरीखोला वारिपारिको खेतको धानखेती नष्ट भएपछि किसान मर्कामा परेका छन्। गत असारमा लगाएर असोजमा फल्ने धानको जरैदेखि सखाप भएको र सबैभन्दा बढी ५ नम्बर वडामा क्षति गरेको स्थानीय किसानको भनाई छ । स्थानीय किसानले उद्योगको लापरबाहीका कारण धानखेतीमै आश्रित रहेका किसानकोे साउनमै धानबालीनष्ट भएपछि बिचल्ली परेको बताएका छन्।
पुनर्वास नगरपालिका– ५ सिमरीका स्थानीय किसान राजु चौधरीले चिनी मिलले केमिकलयुक्त फोहोरोपानी सिमरी नालामा बगाइदिएपछि धानखेती पूर्ण नष्ट भएको किसानले बताए । उनले धानखेतीका साथै मानिसलाई छालासम्बन्धी रोग लागिरहेको जानकारी दिएका छन्। उद्योगको चरम लापरबाहीले धानखेतीसहित अन्य अन्नबालीसमेत सखाप भइरहेको स्थानीय रामेश्वर रानाले बताए। उनले हरेक वर्ष चिनी मिलले उद्योगबाट निस्किएको फोहोरपानी उत्तिकै छाडिदिने गरेकाले खेतकै उर्वराशक्तिमा ह्रास आइरहेको बताए।
उद्योगले फोहोरपानी वेलावेलामा बगाउँदा धानखेती नष्ट भएको पटक–पटक सरकारलाई जानकारी गराउँदा समस्याको सुनुवाइ नभएको उनले बताए । यता उद्योगकै लापरबाहीले किसान मारमा परेको पुनर्वास नगरपालिका– ७ का वडाध्यक्ष मुलचन्द्र रानाको भनाई छ । पटक–पटक गैरकानुनी रूपमा उद्योगको फोहोरपानी नालामा नबगाउन आग्रह गरिएको र अटेर गरिरहेकाले कानुनी रुपमा अघि बढ्न्पर्ने जानकारी दिए । कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त प्रमुख हरिदत्त जोशीले झन्डै ५०–६० किसानको २०० बिघा हाराहारीको जमिनको धानखेती नष्ट भएको जानकारी दिए । उनले के कारणले धानखेती नष्ट भएकोबारे परीक्षणका लागि प्राविधिक टोली खटिएको बताउँदै धान र माटोको नमुनालाई ल्याबमा परिक्षण गरेरमात्रै भन्न सकिने बताए ।
हरेक वर्ष दोदामा आउने बाढी र त्यहीसँगै उद्योगले नालामा फोहोरपानी बगाएका कारण धान खेती नष्ट भएको किसानको जनगुनासोअनुरूप कृषि कार्यालय अनुसन्धानमा जुटेको बताए। तर भागेश्वर सुगरमिल एन्ड केमिकल्स इन्डष्ट्रिज प्रालिले केमिकलयुक्त फोहोरपानी नालामा नबगाएको बताएको छ। भागेश्वर सुगरमिल एन्ड केमिकल्स इन्डष्ट्रिज प्रालिका मेकानिकल इन्जिनियर पदाराज पाण्डेले उद्योगबाट निस्किएको फोहोरपानी यतै व्यवस्थापन हुने र केमिकलयुक्त फोहोरपानी नबगाएको बताए। सिमरी खोलामा पुल निर्माणकार्यले लामो समय पानी थुनिएकाले गन्ध आएको र धानखेती नष्ट भएको हुनसक्ने बताए । उनले अहिले मिल बन्द भएकाले फोहोरपानी नआएको दाबी समेत गरेका छन्।