धनगढी। गत बिहीबार साँझ नेपाल आयल निगम लिमिटेडको सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीले पेट्रोलपम्पमा डिजेल मिसिएको पेट्रोल पठाएको पाइएको छ।
कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित मित्र ट्रेडर्स पेट्रोलपम्पमा डिजेल मिसिएको पेट्रोल पठाएको पाइएको हो। मित्र ट्रेडर्सका सञ्चालक अजय बमका अनुसार निगमको धनगढी डिपोमा चार हजार लिटर माग गरे पनि तीन हजार नौ सय ९४ लिटर पेट्रोल पठाएको बिलिङ गरेको थियो।
सञ्चालक बमले दिउँसो साढे चार बजे पेट्रोल लिएर आएको ना.५ख ७७३ नम्बरको ट्यांकरमा रहेको पेट्रोल हाइड्रोमिटरमार्फत परीक्षण गर्दा डिजेल मिसावट भएको पुष्टि भएको बताए। पम्पमा आएको ट्यांकरको तेल ठीक छ/छैन भनेर नियमित चेक गर्ने गरेको बताउँदै अन्य दिनमा जस्तै बिहीबार पनि सुरुमा करिब ६/७ लिटर तेल झिकेर परीक्षण गर्दा सबै डिजेल मात्रै भेटिएको उनले बताए । त्यसपछि ट्यांकरबाट थप एक बाल्टी (२० लिटर) तेल झिकेर पुनः परीक्षण गर्दा पनि सबै डिजेल मात्रै रहेको पाएको बताए।
बारम्बारको परीक्षणमा पेट्रोल भनिएको ट्यांकरबाट डिजेल मात्रै निस्केपछि तेल भर्न पम्पपरिसरमा आएका उपभोक्ताले निगमबाट डिजेलमिश्रित पेट्रोल आएको जानकारी पाए । त्यसपछि उपभोक्ताले ट्यांकरमा आगजनीसमेत गर्न खोजेका थिए। स्थिति नियन्त्रणमा लिन पम्प सञ्चालक बमले निगमको धनगढी कार्यालयका कर्मचारी र स्थानीय प्रशासनलाई खबर गरे । निगमका कर्मचारी आएर थप एक बाल्टी (२० लिटर) तेल झिकेर परीक्षण गर्दा पुनः डिजेल नै रहेको पुष्टि भयो।
सञ्चालक बमले त्यसपछि अर्काे बाल्टीमा तेल झिकेर परीक्षण गर्दा भने पेट्रोल भेटिएको जानकारी दिए। निगमका कर्मचारीले ट्यांकरमा रहेको डिजेलको मात्रा दुई बाल्टी (४० लिटर) मात्रै भएकाले डिजेल सकिएर ट्यांकरमा शुद्ध पेट्रोल मात्रै भएको दाबी गर्दै पम्पमा खन्याउन दबाबसमेत दिएका थिए। तर, सञ्चालक बमले सो ट्यांकरको पेट्रोल फिर्ता लगेर अर्को ट्यांकरमा चार हजार लिटर पेट्रोल पठाइदिनुपर्ने अडान राखे। त्यसपछि स्थानीय बासिन्दा र घोडाघोडी नगरपालिका–१० का वडाध्यक्षको रोहबरमा मुचुल्का तयार गरी नयाँ ट्यांकरमा चार हजार लिटर पेट्रोल पठाउने सहमति भयो । डिजेलमिश्रित पेट्रोल भने महेन्द्रनगरस्थित एक पम्पमा लगेर खसालिएको स्रोतको भनाइ छ। बिहीबारको घटनामा निगमको डिपो प्रमुख मोहन शाह र अपरेसन विभागका कर्मचारीहरूको प्रत्यक्ष दोष छ।
धनगढी डिपोमा इन्डियन आयल कर्पोरेसन (आइओसी)को बन्थरा डिपोबाट पेट्रोल, डिजेल र मट्टीतेल आउँछ। धनगढीमा भण्डारण क्षमताको अभावका कारण आइओसीबाट तेल बोकेर आएको ट्यांकरलाई डिपोपरिसरमा सामान्य परीक्षण गरी पेट्रोलपम्पमा पठाउने गरिन्छ। आयल निगमका प्रवक्ता मनोज ठाकुरले डिपोमा आएको ट्यांकरलाई ‘ड्रेन’ नगरी पम्पमा तेल पठाउँदा मिसावटको घटना भएको अनुमान गरेको बताए। आइओसीबाट तेल लिएर आएको ट्यांकरको प्रत्येक चेम्बरको तल्लो भागमा रहेको तेल बाल्टीमा खसालेर पुनः ट्यांकरको माथिल्लो भागबाट सोही चेम्बरमा खसाल्नुलाई ड्रेन भनिन्छ। ड्रेनमा भएको कमजोरीले पेट्रोलमा मिसावटजस्तो देखिएको हो, यसबारे विस्तृत लेखी पठाउनु भनेर धनगढी कार्यालयलाई निर्देशन दिइसकेका प्रवक्ता ठाकुरले बताए।
पेट्रोलपम्प सञ्चालकले तेलको तापक्रम र घनत्व परीक्षण गर्ने थर्मोमिटर र हाइड्रोमिटर राखेका कारण धनगढीमा डिजेल मिसिएको पेट्रोल निगमले बिक्री गरेको पत्ता लागेको हो ।निगमको धनगढी डिपो प्रमुख मोहनकुमार शाहले भने पेट्रोल बोकेको ट्यांकरमा डिजेल कसरी देखियो भन्नेबारे अझै यकिन हुन नसकेको र छानबिनकै क्रम रहेको बताए । उनले यस घटनामा चालकलाई मुख्य दोषी करार गर्दै कारबाहीसमेत गर्ने बताए। पेट्रोलमा डिजेल मिसाएर पठाउने घटनामा दोषीलाई कारबाही गर्न सुदूरपश्चिमाञ्चल डिलर्स एसोसिएसनले जिल्ला प्रशासन र आयल निगमलाई लिखित पत्राचार गरे पनि सुनुवाइ भएको छैन।
एसोसिएसनका अध्यक्ष चक्र मल्लले हस्ताक्षर गरी पठाएको पत्रमा डिजेल मिसिएको पेट्रोल पठाउने घटनामा संलग्नलाई आवश्यक कारबाही गर्न अनुरोध गरिएको छ। एसोसिएसनमा आबद्ध एक व्यवसायीले अपरेसन विभागमा कार्यरत कर्मचारीहरूको लापरबाहीले घटना भएको बताए । यो घटनामा कमचारीलाई कारबाही हुनुपर्ने भन्दै डिपो प्रमुखले नैतिक जिम्मेवारी लिनुपर्ने बताए। आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पेट्रोलमा डिजेल मिसिएको घटनालाई सामान्य रूपमा लिएको व्यवसायीको आरोप छ । उच्च व्यवस्थापनमा कर्मचारीको संलग्नतामा संरक्षण गर्ने तर व्यवसायी र चालकलाई कारबाही गर्नमा लागेको उनीहरुले बताएका छन् ।