बैतडी। बैतडीमा हराएको एक महिनापछि एक बालक मृत फेला परेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका- ४ कनिना डाङका १४ बर्षीय रमेश भट्ट हराएको एक महिनापछि मृत फेला परेका हुन्। गत साउन ७ गतेदेखि हराएका रमेशको शव सडेको अवस्थामा सोमबार फेला परेको प्रहरीले जनाएको छ।
परिवारले उनको खोजीका लागि उनी हराएको दिन नै प्रहरीमा निवेदन समेत दिएका थिए । रमेशको शव खानेपानीको लाइन मर्मतका लागि पुगेका स्थानीयहरुले फेला पारेका हुन् । पञ्चेश्वर गाउँपालिका–३ मड वल्या खोलाको खानेपानी ट्यांकी नजिक भट्टको शव फेला परेको हो । उनले प्रयोग गरेका चप्पल र कपडाको आधारमा उनको शवको पहिचान भएको थियो । रमेशलाई जंगली जनावरले आक्रमण गरेर मारेको हुन सक्ने अनुमान गरिएको छ । मृत अवस्थामा फेला परेका भट्टको परिवारले दाहासँस्कार समेत गरिसकेको प्रहरीले जानकारी दिएको छ ।