कैलाली। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौँका लागि छुटेको सुपप्र०१–००१ख २९८६ नम्बरको बस ‘ब्रेक फेल’ भएर सडक छेउमा पल्टिएको हो।
विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेस्थित घ्युखोलामा आज बिहान उक्त बस दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएकाहरूको मध्यविन्दु जिल्ला अस्पताल र दम्किबास स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए। घाइते सबैको अवस्था खतरामुक्त रहेको उनको भनाइ छ। बसमा ३५ जना यात्रु सवार रहेका जनाइएको छ ।
दुर्घटनामा परी घाइते भएकाहरुको दुम्किबास स्वास्थ्य चौकीमा १६ जना र मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ५ जनाको उपचार भईरहेको छ। उपचारका लागि मध्यविन्दुमा अस्पतालमा लगिएका १३ जनामध्ये ८ जनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन रेफर गरिएको छ। ५ जनाको मध्यविन्दुमै उपचार भइरहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताए। दुर्घटनामा परी घाइते हुनेमा कैलालीका मात्रै २५ जना परेका छन् भने बर्दियाका २ जना र रौतहटका २ जना रहेका छन्। ब्रेक फेल भई बस सडक छेउमा पल्टिएको प्रहरीले जनाएको छ ।