धनगढी। सुदूरपश्चिम प्रदेशका तत्कालिन वन निर्देशक कृष्णदत्त भट्टको घुस प्रकरणबारे छानविन हुने भएको छ। तत्कालिन वन निर्देशक भट्टको घुस प्रकरण छानविन गर्न सार्वजनिक लेखा समितिले उपसमिति गठन गरेको छ।
नेकपा माओवादीका नेता तथा प्रदेश सभा सदस्य मानबहादुर धामीको संयोजकत्वमा छानविन उपसमिति गठन गरिएको हो। सो उपसमितिमा नेकपा एमालेका नेता तथा प्रदेश सभा सदस्य विरबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीकी खेमादेवी विष्ट, नेपाली काँग्रेसका बेलबहादुर राना मगर र नागरिक उन्मुक्ति पार्टीकी टीका थापा सदस्य रहेका छन्।
सो उपसमितिलाई १५ दिनभित्र सत्यतथ्य छानविन गरि प्रतिवेदन पेश गर्नुपर्ने छ। निमित्त निर्देशक भट्टले विभिन्न डिभिजन वन कार्यालयबाट रकम असुल गरेको अडियो सार्वजनिक भएको थियो । सो प्रकरणबाहिर आएपछि निमित्त निर्देशक भट्टले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी र नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्य तथा नेता दीर्घबहादुर सोडारीलाई फोनसम्पर्कमा धम्क्याएको घटना पनि बाहिर आएको छ।
यसअघि निमित्त बन निर्देशक कृष्णदत्त भट्टले माथहतका कार्यालयहरुबाट मासिक रकम उठाउने गरेको खुलेको छ। पछिल्लो समय सार्वजनिक भएको एउटा भिडियोमा स्वयंम भट्टले मातहतका कार्यालयबाट रकम असुली गर्दै आएको खुलासा गरिदिएका थिए । मदिरामा लठ्ठ परेको देखिएका भट्टले भिडियोमा डिभिजन वन र सब डिभिजन वन कार्यालयहरुबाट अवैध रकम असुली गर्दै आएको कुराको खुलासा गरिदिएका थिए।