काठमाडौँ। भक्तपुरको सानोठिमीस्थित बाल सुधारगृहबाट भागेका २२१ जनामध्ये १९४ जना सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रमुख एसपी प्रजित केसीले भागेकामध्ये २७ जना सम्पर्कमा आउन बाँकी रहेको बताए ।
बाल सुधारगृहमा २९७ जना रहेकोमा २२१ जना प्रदर्शन गर्दै बाहिर निस्किएका थिए। आइतबार उक्त सुधारमा एक बालकको मृत्यु भएपछि उनका आफन्तले गेटमा प्रदर्शन गर्नुका साथै तोडफोडसमेत गरेका थिए । त्यसबेला भित्र रहेका अधिकांश बन्दीहरूले पनि प्रदर्शनकारीलाई नै साथ दिएर प्रदर्शनमा सामेल भएका हुन्। एसपी केसीले बन्दीहरूले उपचार र औषधि दिने कुरामा प्रशासनले भेदभाव गरेको भन्दै आपत्ति जनाएको बताए।
सुधारगृहमा के भएको हो भन्ने कुरा अनुसन्धानपछि मात्र खुल्ने पनि उनले बताए । सुधारगृहबाट बाहिर निस्कने क्रममा सुरक्षाकर्मीसँग झडपसमेत भएको थियो । झडपका क्रममा १९ जना प्रहरी घाइते भएको एसपी केसीले बताए । बन्दीतर्फ भने सामान्य घाइते भएको उनको भनाइ छ। कैदी फरारको घटना आइतबार त्यहाँका एक कैदी मृत्यु प्रकरणसँग जोडिएको छ ।२९ जेठ २०७७ देखि कैद भुक्तान गर्दै आएका मन्थली नगरपालिका-३, कठजोरका २१ वर्षका कमल बस्नेत अचानक बेहोस भएपछि गठ्ठाघरस्थित नागरिक अस्पताल लगिएको थियो।
अस्पतालमा चिकित्सकहरुले उनलाई मृत घोषित गरेका थिए। बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार १८ वर्षमुनिका कुनै व्यक्तिले फौजदारी अपराध गरेमा बाल सुधार गृहमा राख्ने व्यवस्था गरेको छ । त्यही अनुसार, देशभर ८ वटा बाल सुधार गृह सञ्चालित छन्।भक्तपुर, मोरङ, कास्की, बाँके, मकवानपुर, डोटी, पर्सा र रुपन्देहीमा बाल सुधार गृह छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगत सरकारले बालसुधार गृह चलाउँदै आएको छ । तीमध्ये ४ वटा सरकारले नै सञ्चालन गरिरहेको छ भने बाँकी गैरसरकारी संस्थाले चलाउँदै आएका छन्।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालका अनुसार, सानोठिमीस्थित सुधार गृह युसेप नेपाल नामक संस्थाले चलाउँदै आएको थियो । पछिल्लो गणना अनुसार, सुधार गृहमा २९९ जना कैदीबन्दी थिए।आइतबार मृत्यु भएका श्रेष्ठको बायाँतिर तीघ्रामा पिलो आएको थियो भने लामो समयदेखि आँखामा समस्या थियो । ‘बेहोस के कारण भए भन्ने खुल्न नसकेपछि आवश्यक छानबिन गरिरहेका थियौं’, जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रमुख एसपी प्रजित केसीले भने। बस्नेतका आफन्तले अस्पताल पुगेर सोधपुछ गर्दा उनीहरुले मृत्युको कारणबारे चित्त बुझ्दो जवाफ पाएनन् । प्रशासनले पनि स्पष्ट कारण बताएन । बरु प्रहरी वृत्त, थिमि पुग्दा प्रहरीले दर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । त्यसपछि उनीहरुले बस्नेतको मृत्यु रहस्यमय भएको भन्दै नारावाजी गरेका थिए ।कारागार बाहिर आफन्त र कारागारभित्र कैदीबन्दीले प्रदर्शन थालेपछि आइतबार पनि बाल सुधार गृहमा स्थिति तनावग्रस्त भएको थियो ।