अछाम। अछाममा चितुवाले आठ बाख्रा मारेको छ। गएराति चितुवाले अछामको बान्नीगढी जयगढ गाउँपालिकामा एकै कृषकका आठ बाख्रा मारेको हो । बान्नीगढी जयगढ गाउँपालिका–१ गाज्राका तिलक खड्काले पालेका आठ बाख्रा चितुवाले मारेको स्थानीय लक्ष्मी खड्काले जानकारी दिए ।
घरबाट करिब १५ मिनेट टाढा रहेको गोठमा भैँसी, गोरुसँगै रहेका बाख्रा मारेको उनले बताए । “गोठ घरबाट टाढा भएकाले राति आवाज पनि सुनिएन, बाख्रा मारेको त बिहान थाहा भयो” खड्काले भने ।पछिल्लो समय एक महिना यता त्यस क्षेत्रमा १५ बाख्रा मारिसकेको स्थानीयको भनाइ छ । बाख्रासँगै चितुवाले केटाकेटी वा अन्य मान्छेलाई आक्रमण गर्ने होकि भनेर गाउँलेहरू चिन्तित बनेका छन् ।