कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका-१० को सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल बिरेन्द्र प्रसाद जोशी पक्राउ परेका छन् । सिद्धनाथ माध्यमिक विद्यालयकाी एक छात्रामाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले जोशीले विद्यालयमा अध्ययनरत अन्दाजी १५ वर्षीया छात्रामाथि हातपात गर्दै अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिए । उनकाअनुसार छात्रामाथि हातपात गरिएको भन्दै आइतबार विद्यार्थीहरु आन्दोलित भएका थिए । ३१ साउनमा लेखापाल जोशीले एक छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले विरोध प्रदर्शन गर्दै दोषीउपर कारबाहीको माग गरेका थिए।
विद्यार्थीले शिक्षक र कार्यकक्षमा ढुंगामुढासमेत प्रहार गर्दै आन्दोलित बनेका थिए।आन्दोलनका कारण आइतबारको पठनपाठन प्रभावित भएको छ। उनीहरुले जोशीलाई कडा कारवाहीको माग गरेका छन् । जोशीलाई पक्राउ गरिएपनि पीडित पक्षले अहिलेसम्म किटानी जाहेरी भने दर्ता गराएका छैनन्। विद्यालय प्रशासनले भने शिक्षकले छात्रामाथि दुर्व्यवहार नगरेको दाबी गरेको छ। सिद्धनाथ माध्यमिक विद्यालयका प्रध्यानाध्यापक कृष्णसिंह बोहोराले ३१ साउनमा शिक्षक जोशीको छात्रासँग कुम मात्रै ठोक्किएको बताए। शिक्षक जोशीले पनि विद्यालयमा तलमाथि गर्दा भिडभाडमा कुम मात्रै ठोक्किएको प्रतिक्रिया दिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।