धनगढी। घुस प्रकरणमा मुछिएका कृष्णदत्त भट्टलाई पुनः सुदूरपश्चिम प्रदेशको निमित्त वन निर्देशकमा नियुक्त गरिएको छ। वन मन्त्रालयको असहमतिकैबीच मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले भट्टलाई प्रदेशको निमित्त वन निर्देशकमा नियुक्त गरेको हो।
वन मन्त्रालयले उनीभन्दा सिनियर उप–सचिव हेमराज विष्टलाई नियुक्त गर्न सिफारिस गरे पनि शक्ति केन्द्रको पावरमा मुख्यमन्त्री कार्यालयले भट्टलाइ पुनः निर्देशक नियुक्त गरेको छ। यसअघिका निमित्त निर्देशक हेमराज विष्टको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ। तर भट्टले आफूलाई निर्देशक बनाउनका लागि डडेल्धुराका काँग्रेसी नेतामार्फत केन्द्रिय नेतृत्वलाई गुहार गरी पावर लगाएपछि मुख्यमन्त्री शाह पनि भट्टलाई नियुक्त गर्न राजी भएको श्रोतले बताएको छ।
भट्टको नियुक्तिले वन क्षेत्रका अधिकृतहरू भने रुष्ट भएका छन्। वन मन्त्री रमेश धामी, राज्यमन्त्री गीतादेवी माल र मन्त्रालयका सचिव वेदकुमार ढकालले समेत भट्टलाई निर्देशक नियुक्त गरिएकोमा असन्तुष्टि जनाएका छन्। वन मातहतकै कर्मचारीलाई फोन गरेर भट्टले आफ्नो नियुक्ति रोक्न लागेको आरोप लगाउँदै वन मन्त्री रमेश धामीलाई सुन्नै नसकिने शब्दमा आमाचकारी गालीगलोच गरेको अडियो पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ।
यसैबिच डिभिजन वन कार्यालय प्रमुखहरूको पनि सरुवा गरिएको छ । डिभिजन वन कार्यालय कैलालीको प्रमुखमा राम चन्द्र कंडेल आएका छन भने पहलमानपुरमा राम विचारी ठाकुर लाइ खटाइएको छ । डडेल्धुरामा शम्भु प्रसाद तिवारी,कञ्चनपुरमा भीम प्रसाद कंडेल,डोटीमा गोकुल रीजाल,अछाममा जनक पाध्या र बझाङमा भरत भट्ट लाइ जिम्मेवारी दिइएको छ ।
त्यस्तै केशव पराजुलीको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र कैलालीमा सरुवा भएको छ। पछिल्लो एक वर्ष निमित्त निर्देशक रहेका कृष्णदत्त भट्टको ध्यान वन जोगाउने भन्दा पनि पैसा उठाउनमै केन्द्रित थियो भन्ने सार्वजनिक भिडियोले पनि पुष्टि गरेको छ। सुदूरपश्चिम प्रदेश वन निर्देशनालय अन्तर्गत मातहतका कार्यालयहरूबाट घुसवाफत रकम असुली गरेको भिडियो सार्वजनिक भएपछि उनी विवादमा मुछिएका थिए।