धनगढी। सुदूरपश्चिममा थुप्रै ऐन नियम निर्माण गर्नुपर्ने र बनेका ऐन नियम कार्यान्वयनमा लैजानुपर्ने भएपनी प्रदेशसभा बैठक अनिश्चित बनेको छ।
असार ३० गते प्रदेश सभाबाट चालु आर्थिक वर्षको बजेट पारित भएयता प्रदेश सभा बैठक बस्न सकेको छैन् । प्रदेश सरकारले बिजनेस दिन नसक्दा बैठक अनिश्चित बनेको हो । प्रदेश सभाको गतिविधिले प्रदेश सरकारको गतिविधिलाई झल्काउने हुँदा सरकार नै कछुवा गतिमा चलेकोले सभा पनि त्यस्तै चलेको प्रमुख प्रतिपक्ष दलको भनाइ छ।
मुख्यमन्त्री, सभामुख, उपसभामुख चयन र विषयगत समितिमा प्रदेश सभा सदस्यलाई जिम्मेवारी बाँडफाँडका साथै नीति तथा कार्यक्रम र बजेट ल्याएपछि सरकारले बैठक सञ्चालनमा ध्यान नदिएको प्रदेश सभा सदस्य तथा नेकपा एमालेका नेता धर्मराज पाठकले बताए । सरकारका काममा सुझाव दिने थलो प्रदेश सभा भएपनी ऐन निर्माण गर्नुपर्ने र कार्यान्वयनमा नभएका ऐनलाई संशोधन गर्नुपर्ने कुरा बेवस्ता गरिएको उनले बताए ।
प्रदेश सरकार आफुलाई आवश्यकता परेमा मात्र बैठक बसाल्ने गरेको आरोप लगाउँदै प्रदेश सरकार यस्मा गम्भिर बन्नुपर्ने बताए। सरकारले विजनेस नदिँदा सभामुख भीमबहादुर भण्डारीले असार ३० गते बसेको २१ औं बैठकमा अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका थिए । सभामुख भण्डारीले बिजनेस नहुँदा हालसम्म बैठक आह्वान गर्न नसकिएको बताए ।प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्रकी नेतृ जानकी ऐर (बम)ले ‘तीन महिनासम्म पनि बैठक बसाल्न नसक्नु सरकार जनताप्रति कति जिम्मेवार छ भन्ने देखिएको बताइन् । यहाँ छाउगोठमै युवतिको मृत्यु भएको छ । मुक्त कमैया, हलिया, अपाङ्गता भएका व्यक्ति, दलित, पिछडा बर्ग लगायतका थुप्रै समस्या छन् ।
हामीलाई जनताले आफना समस्या सरकारसम्म पुगाउन निर्वाचित गरेको हो । तर, बैठक बस्दैन । सार्वजनिक कार्यक्रममा तपाईहरुसंग सुनाउनुपरेको उनले भनिन् ।जनताका पीडा, ऐन निर्माण तथा संशोधन गर्ने थलोका रुपमा प्रदेश सभा हो । तर, सोही प्रदेश सभामा अहिलेसम्म कुनै पनि ऐन दर्ता भएका छैनन् । सरकार गठनमा ढिलाई हुँदा प्रदेश सभालाई विजनेस दिन नसकिएको प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले बताए । उनले भने –‘दुई हप्ताअघि सरकारले पूर्णता पाएको छ । सरकार सञ्चालनका लागि आवश्यक ऐनका मस्यौदा निर्माण गर्ने चरणमा छौं । थुप्रै पुराना ऐनहरुलाई आवश्यकता अनुसार संशोधन गर्नुपर्ने छ । अब प्रदेश सभामा विजनेस हुने छ ।’
प्रदेश सभा बैठकले संसदीय विषयगत समितिको जिम्मेवारी प्रदेश सभा सदस्यलाई दिएपनि अहिलेसम्म ति समितिहरुले पूर्णता पाउन सकेको छैन् । निरन्तर बैठक बस्न नसक्दा प्रदेश सभा सदस्यहरू फुर्सदिला भएका छन् । उनीहरूको दिनचर्या कार्यक्रम उद्घाटन, शिलान्यास र अनुगमनमा सीमित बनेको हो ।
प्रथम अधिवेशन जेठ ६ गते सम्पन्न भएर जेठ १३ गतेबाट दोस्रो अधिवेशन सुरु भएको थियो । पहिलो अधिवेशनमा सभामुख उपसभामुख निर्वाचन र मुख्यमन्त्रीको विश्वासको मतमा मात्रै केन्द्रित भएको प्रदेश सभा दोस्रो अधिवेशनमा नीति तथा कार्यक्रम र बजेटमा मात्रै केन्द्रित भयो । जेठ २४ गते प्रदेश प्रमुख देवराज जोशीले नीति तथा कार्यक्रम प्रस्तुत गरे । जेठ ३० मा नीति तथा कार्यक्रम पारित भयो । सरकारले असार १ गते बजेट ल्यायो । बजेट प्रस्तुतको २५ दिनपछि बल्ल संसद् सुरु भयो । २५ गते बजेटमाथि छलफल नभई प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहको सडक दुर्घटनामा निधन भएको घटनाप्रति शोक प्रस्ताव पारित गर्दै बैठक सकिएको थियो । असार ३० मा बजेट पारित गरिएको थियो । त्यसयता बैठक बस्न नसकेको छैन् ।