कञ्चनपुर। कञ्चनपुरमा युवकको मृत्यु भएको भन्दै गरिएको चक्काजाम हटेको छ। बुधवार राती कञ्चनपुरस्थीत पूर्वपश्चिम राजमार्गमा लत्रिएको डिसहोम फाइबरनेटको तारबाट करेन्ट लागेर भीमदत्त १० पशुपती टोलका ४० वर्षीय दिनेश ओडको मृत्यु भएको थियो।
ओडको मृत्यु भएपछि बिहीवार बिहानैबाट आफन्तले गरेको पूर्वपश्चिम राजमार्गको महेन्द्रनगर–गड्डाचौकी सडकखण्डको चक्काजाम हटेको हो। मृतकका आफन्त तथा स्थानिय प्रर्दशनकारीलेभीमदत्त नगरपालिका-५ सुकासालस्थित राजमार्गमा चक्काजाम गरेका थिए। मृतक ओडका आफन्त कृष्ण सुनारले क्षतिपूर्ति सम्बन्धमा सरोकारवाला पक्ष सकारात्मक देखिएकाले अहिलेका लागि अवरोध हटाइएको बताए।
जिल्ला प्रशासन कार्यालयमा छलफल चलिरहेको र छलफलको निचोड पीडितका पक्षमा नआए फेरि राजमार्ग बन्द गरिने ओडका आफन्तले बताएका छन्। पीडित पक्षले मृतकको परिवारलाई ३० लाख रुपैयाँ र एक जनालाई रोजगारीको व्यवस्था गरिनुपर्ने माग गरेको छ। डिसहोम र विद्युत प्राधिकरण दुबैबाट क्षतिपूर्ति भराउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। डिसहोम र विद्युतले आफ्नो माथिल्लो निकायमा छलफल गरिरहेको र ‘वातावरण सकारात्मक रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।डिसहोमको अप्टिकल फाइबर विद्युत प्राधिकरणको प्रसारणलाइनमैं तारसँग जोडेर राखेको र सो फाइबर लत्रिएर ओडको टाउकोमा लागेपछि करेन्ट प्रवाह ह्ँदा दुर्घटना भएको थियो।