धनगढी। कञ्चनपुरको मध्यवर्ती क्षेत्रमा मरेको जङ्गली हात्तीको हिन्दु परम्पराअनुसार बिहीबार अन्त्येष्टि गरिएको छ। बुधबार राति कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा रहेको सेप्टी ट्याङ्कीमा फसेर ज्यान गएको हात्तीको हिन्दु परम्पराअनुसार आज बिहीबार अन्त्येष्टि गरिएको हो।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले हात्तीको अन्त्येष्टि गरेको हो । हिन्दु धर्मावलम्बीहरूले हात्तीलाई गणेश भगवानको रूपमा पुज्ने गर्ने भएकाले त्यसैले पूजाआजा गरेर हात्तीको अन्त्येष्टि गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । हात्ती करिब ३५ देखि ४० वर्षको वयस्क पोथी रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले जानकारी दिए। उनका अनुसार झुण्डबाट छुट्टिएर एक्लै हिँडेको हात्ती करिब १२ बजेतिर चर्पीको सेप्टी ट्याङ्कीमा परेको थियो।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको जङ्गली हात्तीको सङ्ख्या यकिन छैन। हरेक वर्ष २४-२५ वटा हात्तीको झुण्ड निकुञ्जमा देखिए पनि नेपाल–भारतमा ओहोरदोहोर गरिरहने गरेको जनाइएको छ। कञ्चनपुरमा पछिल्लो केही वर्षयता तीन वटा जङ्गली हात्तीको ज्यान गइसकेको छ। गतवर्ष झुण्डबाट छुट्टिएको एउटा छावा मृत भेटिएको मेहताले जानकारी दिए। यसैगरी, छ वर्ष अगाडि पुनर्वास नगरपालिका-१० स्थित नमुना सामुदायिक वनमा शिकारीले थापेको विद्युतीय पासोमा परेर एउटा भाले हात्तीको ज्यान गएको थियो।