धनगढी। कैलालीमा गत सोमबारदेखी चार दिनसम्म परेको अविरल वर्षाका कारण बाढी र डुबानले हजारौँ नागरिक परिवार विस्थापित बन्न पुगेका थिए। बाढीको उच्च जोखिममा रहँदै आएको कैलालीको भजनी नगरपालिका र कैलारी गाउँपालिका जलमग्न हुँदा स्थानियवासी प्रभावित बनेका थिए।
त्यस्तै सामान्य रुपमा अविरल वर्षाका कारण कैलालीको धनगढी वडा नम्बर १५ ,गोदावरी, जोशीपुर,चुरे क्षेत्रपनी प्रभावित भएको थियो। बाढी डुबान र चट्याङ्गका कारण सो अवधीसम्म ४ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। बाढी र डुबानका कारण सबैभन्दा बढी कैलालीको भजनी नगरपालिकाका एक हजार २४ घरपरिवार विस्थापित भएका थिए। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बाढी प्रभावित क्षेत्रमा जनजीवन सहज बन्न थालेको बताए।
उनले बाढी घटेको र डुबेको घरबाट पानी निस्केको बताउँदै डुबानका कारण विस्थापितहरू घर फर्कने वातावरण बनेसँगै जनजीवन सहज बन्न थालेको बताए । गतसाता आएको बाढीका कारण जिल्लाभरि हजारभन्दा बढी परिवार विस्थापित भएका थिए ।बाढी घट्नुका साथै मौसममा केही सुधार भएपछि धेरैजसो विस्थापितहरू घर फर्किसकेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जोशीले जानकारी दिए । सूचना अधिकारी जोशीले करिब एक सय जतिमात्रै घर फर्कन बाँकी रहेकाले मौसममा सुधार भएकाले उनीहरू घर फर्कनेक्रम जारी रहेको बताए। एक दुई दिनभित्र सबै फर्कन्छन् होला,उनले भने।
मोहना, कान्द्रा, काँढा, पथरैया नदीको बाढीले डुबान भएपछि भजनी नगरपालिकाका अत्यधिक परिवार घर छोडेर हुलाकी सडकमा विस्थापित भएका थिए । यसैगरी, केही परिवार विद्यालय र सुरक्षित भवनमा बसेका थिए। भजनी नगरपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाका अधिकृत विष्णुराज न्यौपानेले बाढी घटेपछि धेरै परिवार आ–आफ्नो घर फर्केको बताए ।
उनले भजनीमा अब वडा नम्बर–३ को पकरियापुरका २५र३० परिवारमात्रै घर फर्कन बाँकी रहेको जानकारी दिए। ती सबै परिवारका व्यक्ति हुलाकी राजमार्गमा एकसातादेखि त्रिपालमुनि बसिरहेका छन् । यसैगरी, गर्भवती, सुत्केरी, बालबालिका, अपाङ्गता भएका ज्येष्ठ नागरिक गरेर सेफ हाउसमा बसिरहेका ३९ जना पनि घर फर्कन बाँकी रहेको छ । न्यौपानेले सबैभन्दा बढी वडा नम्बर ८ का ५९० परिवार विस्थापित भएका उनीहरू सबै आ–आफ्नो घर फर्किसकेको जानकारी दिए ।