टीकापुर। कैलाली जिल्लाको भजनीमा बाढीको जोखिममा रहेका गर्भवती, सुत्केरी र बच्चालाई स्नेह केन्द्रमा राखिएको छ। भजनी नगरपालिकाको स्नेह केन्द्रमा बाढी प्रभावित ४२ बसिरहेका छन्। बाढीले घर डुबानमा परेपछि गर्भवती, सुत्केरी, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकलाई केन्द्रमा राखिएको हो ।
केन्द्रमा २१ बच्चा, पाँच गर्भवती, छ सुत्केरी, सात अन्य महिला, एक किशोर, एक किशोरी र एक जना ज्येष्ठ नागरिकलाई राखिएका छन्। भजनी–३ दैलेखीटोलकी लीला सुनार घरमा बाढी पसेपछि आठ महिनाकी छोरी लिएर स्नेह केन्द्रमा बसेका छन्। यहाँ आएपछि उनलाई ढुक्क भएको छ। अब पानी घटेपछि घर फर्कने उहाँको तयारी छ। “घरमा अहिले पनि पानी बगिरहेको छ।
बाढी पसेपछि छोरी लिएर कहाँ जानु चिन्तामा थिएँ”, उनले भने, “नगरपालिकाले बच्चाका आमा र बच्चाका लागि सुरक्षित आवास छ भनेपछि यही आएँ। यहाँ आएपछि छोरीको पनि राम्रो स्याहार भएको छ।” लीला बच्चासहित स्नेह केन्द्रमा बसे पनि उहाँका परिवारका सदस्य भने पाल टाँगेर सडकमा बसिरहेका छन्। पालिका र सङ्घसंस्था मिलेर सञ्चालन गरिएको स्नेह केन्द्रमा बसेकाहरू बाढी घटेपछि घरमा बस्न मिल्ने वातावरण भएपछि घर फर्कनेछन्।
गर्भवती सपना सुनार पनि बाढी आएर घरमा बस्न नमिलेपछि सुरक्षित आवास गृहमा बस्न आउनुभएको छ। “घरमा बाढी पस्न थाल्यो, बाढीले बस्ती नै डुब्यो”, उनले भने, “गर्भावस्थाकी म कहाँ भागौँ, सडकमा गएर कसरी बसौँ भन्ने पिर थियो। उपप्रमुखले स्नेह केन्द्रमा आउन भने,। यहाँ आएपछि सहज भएको छ।” केन्द्रमा बसेका महिलाको स्वास्थ्य परीक्षण, नियमित योगाभ्यास र पोषणयुक्त खानेकुराको व्यवस्था नगरपालिकाले गरेको छ।
बाढीले तनाव रहेकाहरूमा मनोसमस्या सिर्जना नहोस् भनी उनीहरूलाई खुसी राख्ने प्रयास गरिएको भजनी नगरपालिकाका उपप्रमुख राजु तिरुवा बताउँछन्। “यसरी स्नेह केन्द्रमा बसिरहेकालाई योग कक्षासहित, मनोरञ्जन, उपचार सेवा र खानपानको राम्रो व्यवस्था गरिएको छ”, उनि भन्छन्, “बाढीले सयौँ परिवार विस्थापित छन्, विस्थापितमध्ये महिला तथा बालबालिका बढी जोखिममा हुने भएकाले स्नेह केन्द्रमा बसोबासको व्यवस्था मिलाइएको छ ।”
विस्थापित अधिकांश उच्च भवन तथा हुलाकी सडकमा बसिरहेका छन्। सबैलाई यसैगरी पालिकाले राख्न सक्ने अवस्था नरहेको नगरपालिकाले जनाएको छ। यही साउन २२ गते आएको बाढीले भजनी नगरपालिकामा नौ सय ९९ परिवार विस्थापित भएका छन्। बाढीले दुई हजार तीन सय ४२ परिवार प्रभावित भएका छन्। विस्थापित केही पानी घटेपछि घर फर्किएका छन्। भजनीमा बाढीका कारण पूर्ण रूपमा २ घरमा क्षति भएको छ। त्यहाँ अहिले पनि १५ परिवार उच्च जोखिममा छन् । बाढीका कारण विस्थापित भएकाहरू हुलाकी सडकमा आश्रय लिएर बसिरहेका छन्। विस्थापितलाई पालिकाले खानपानका लागि खाद्यान्नलगायतका राहत उपलब्ध गराउन सुरु गरेको छ । भजनीमा बाढीले क्षति पुर्याउनुका साथै नागरिक विस्थापित भएपछि विभिन्न सङ्घसंस्थाले समेत राहतमा सहयोग गर्न थालेका छन् । रासस