कञ्चनपुर। कञ्चनपुर कारागारभित्र कैदीमाथि कुटपिट भएको भन्दै लफडा भएको छ। कैद भुक्तान गरिरहेका कैलालीको गोदावरी नगरपालिका-५ गेटाका सुवास भट्टमाथि कुटपिट भएको भन्दै उनको परिवारले सोमबार कारागार कार्यालय कञ्चनपुर घेराउ गरेको हो।
कारागारभित्र भट्टमाथि निर्घात कुटपिट भएको र जेलभित्र कैदीहरू मिलेर कहिले पाइपले पिट्ने त कहिले पासो देखाएर मारिदिन्छौँ भनेर धम्काउँछन् भनेर फोन गरेको उनका दाइ किरण भट्टले बताए । कारागारका चौकीदार तथा नाइकेले कैदीबाट रकम असुल्ने र भाइले फोन गरेर सुत्न, खाना नदिएको भन्दै पैसा माग्ने गरेको समेत भाईले भनेको आरोप लगाए । २० हजार नदिए ३/४ दिनमा मार्दैछन् भनेर कारागारबाट फोन गरेको दाइ किरणले बताए।
त्यसपछि जेलभित्र असुरक्षित महसुस गरेर भाइलाई भेट्न र जेल स्थानान्तरण गर्नका लागी परिवारका सदस्य सोमबार धनगढीबाट कञ्चनपुर कारागार पुगेको बताए । तर भेट्नै नदिइएको उनले बताए । कैदी सुवासलाई भेट्न नदिएको भन्दै उनका आफन्त कारागार परिसरमा आक्रोशित बनेका थिए। आक्रोशित उनीहरुसँगै अन्यको भीड बढ्न थालेपछि प्रहरीले बल प्रयोग गरेर भीड तितर बितर पारेको छ। डेढ वर्ष कैद सजाय सुनाइएका सुवास ७ महिनादेखि लागुऔषध मुद्दामा कारागारमा कैद भुक्तान गरिरहेका छन्।
उनी यसअघि पनि सोही मुद्दामा पटक पटक कारागार परिसकेका छन्। कैदी भट्टका आफन्तले कारागार कार्यालय कञ्चनपुरमा सुरक्षित महसुस नगरेकाले कैदी भट्टलाई कारागार स्थानान्तरण गरिदिनुपर्ने तथा रकम असुल्ने चौकीदार तथा नाइकेलाई सरुवा गर्नुपर्ने माग गरेका छन्। सात महिनामा अहिलेसम्म कैदी भाइका लागि ५५ हजार रुपैयाँ कारागारमा पठाएको रकम चौकीदार र नाइकेले प्रयोग गर्ने गरेको दाई किरणले आरोप लगाए । यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ बडैपुरकी कमला धामीले कारागारभित्र रहेका छोराले पैसा माग्ने गरेको गुनासो गरिन्। जबरजस्ती करणी मुद्दामा जेल सजाय भुक्तान उनका छोरा असोक धामीले महिना महिनामा पैसा चाहियो भनेर २/३ हजार रुपैयाँ माग्ने गरेको उनले बताइन्। भेट्न आउँदा पनि राम्रोसँग बोल्न नदिएको उनको आरोप छ।
उता कारागार कार्यालय कञ्चनपुरका चौकीदार टेकराज जोशीले अहिलेसम्म कुनै पनि कैदीबाट रकम नअसुलेको दाबी गरेका छन्। कारागार कार्यालय कञ्चनपुरका जेलर माया बस्नेत थापाले कैदी सुवासलाई कुटपिट नभएको दाबी गरिन्। आइतबार कैदीलाई उनको आफन्तसंग समेत भेटाइएको बताइन्। यसअघि कारागारमा रहँदा उनी अनुशासित थिए तर यसपटक उनको व्यवहार ठिक नभएको ब्लकबाट गुनासो आएपछि ब्लक परिवर्तन गरिएको बताइन्। ब्लक परिवर्तन गरेको झोकमा सुवासले आफन्त बोलाएर लफडा गराएको दाबी छ। जेलर थापाले परिवारको माग अनुसार कैदी सुवासलाई अर्को जेलमा सार्ने प्रक्रिया अघि बढाइएको बताएकी छिन्।