दार्चुला। भारतले उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका तेस्रो पटक खोल्ने भएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज आइतवार एक सूचना निकालेर आउँदो बिहीवार बिहान ५ देखि बेलुकी ८ बजेसम्म धौलीगङ्गाको बाँधका ढोका खुल्ने जनाएको हो।
भारतीय प्रशासनले सिल्ट सरसफाइ गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी दिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले जानकारी दिए। बाँधका ढोका खुल्दा महाकाली नदीमा पानी बहाव बढ्ने भन्दै प्रशासनले नदी किनार बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ। व्यास गाउँपालिका-५ धौलाकोटदेखि लेकम गाउँपालिका-३ लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न प्रशासनले भनेको छ।
भारतले बर्खाको समयमा बेला बेला बाँधका ढोका खोल्दै आएको छ। भारतले गएको असार २६ गते पहिलो पटक बाँधका ढोका खोलेको थियो भने पुनः साउन ६ गते दोस्रो पटक बाँधका ढोका खोलेको थियो । साउन ६ गते दोस्रो पटक खोलेको बाँधले दार्चुलाको पारिपट्टि भारतीय क्षेत्र धार्चुलामा एक घर बाढीले बगाएको थियो। यसअघि २०७० सालमा भारतले नेपालतिर कुनै जानकारी नदिई बाँधका ढोका खोल्दा नेपालतिर क्षति भएको थियो। पछिल्ला वर्षहरूमा भारतले परियोजनाका ढोका खोल्दा नेपालतिर पूर्वजानकारी दिने गरेको छ।