कैलाली। एक हप्ता देखी अवरुद्ध सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ।
एकतर्फी सञ्चालन भएपनि भीमदत्त राजमार्गमा दोहोरो यातायात सञ्चालन हुन अझै समय लाग्ने सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका अनुसार खाली सवारी एक/दुई वटा मात्रै सञ्चालन भैरहेको छ। तर पनी सडक हिलाम्य हुँदा सवारी फस्ने गरेको बताइएको छ। पहाडी जिल्लाबाट आएका सवारी साधनलाई एक/एक गरी तल झार्ने प्रयास गरिएको र भूस्खलन भएको सडकबाट एउटै गाडी निकाल्न पनि कठिनाइ भएको बताइएको छ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी ईन्जीनियर पीयूष चटौतले नयाँ ट्र्याक खालेको ठाउँमा माटो गिलो र पानी जम्ने भएका दुई तर्फी बाटो संचालान गर्न कठिनाइ भएको बताए। सडक विभाग,सुरक्षाकर्मी र स्थानीयहरूको निरन्तर प्रयासपछि भासिएको सडक मर्मत सम्भार र एकतर्फी सञ्चालन एक हप्ता दिनमा खुलेपनि दोहोरो यातायात भने यो बर्खा याममा काम गर्न नसकिने चटौतको भनाई छ।
अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण भीमदत्त राजमार्ग अन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिका-४ बुढीतोलामा सडक खण्ड गत सोमवारदेखि अवरुद्ध थियो। नयाँ ट्रयाकको जमिन मुनी पानी भएकाले सडक हिलाम्य हुँदा अन्य यातायातका सवारी साधनलाई सञ्चालनमा आउन नदिइएको प्रहरीले बताएको छ। ट्रयाकमा ढुंगा भर्ने कार्य भइरहेको छ। पुर्ण रुपमा सडक सञ्चालनमा आउन समय लाग्ने प्रहरीले बताएको छ।पहिरोका कारण सुदूर पहाडका सात जिल्लाबाट तराई आउने तथा तराईबाट पहाड जानेहरुको सडक सम्पर्क टुटेको छ ।