दार्चुला। भारतको उत्तराखण्डको पिथौरागढस्थित बन्दी गृहबाट फरार भएकी एकजना नेपाली युवती सहयोगीसहित पक्राउ परेकी छन्। दार्चुलाको दुम्लिङ घर भएकी २५ वर्षीया अनुष्का भनिने आकृति बुढाथोकीलाई पिथौरागढ प्रहरीले बिहीबार थल क्षेत्रबाट पक्राउ गरेको हो ।
बुढाथोकीलाई भगाउन सहयोगीको भूमिका निर्वाह गरेको भन्दै एक नाबालिकासहित तीन जना भारतीय नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ। बुढाथोकी पिथौरागढस्थित बन्दी गृहबाट गत शनिबार राति भागेकी थिइन्।लागूऔषध मुद्दामा पक्राउ परेकी बुढाथोकी फरार भएपछि उनीमाथि थप अभियोग लगाइएको छ।
दार्चुलाको सीमावर्ती भारतीय बजार धार्चुलाबाट एक किलोभन्दा बढी चरेशसहित सन् २०२१ मा उनी पक्राउ परेकी थिइन्। उनीविरुद्ध अदालतमा मुद्दा चलिरहेको थियो। अन्तिम टुंगो नलागेकाले बन्दी गृहमा राखिएको थियो। बुढाथोकी फरार भएपछि भारतीय प्रहरीले १२ वटा छुट्टाछुट्टै टोली बनाएर खोजि कार्य गरेको थियो। त्यसपछि उनलाई पिथौरागढ नजिकको थल गाउँको जंगलमा फेला पारेर नियन्त्रणमा लिएको हो।