कञ्चनपुर। कञ्चनपुरका एक वडाध्यक्ष नै ढुङ्गा तस्करीमा लागेपछि तटबन्ध निर्माणको काममा अवरोध गरेको आरोप लागेको छ। कञ्चनपुर वेदकोट नगरपालिका–४स्थीत बगुन खोला तटबन्ध निर्माण कार्यमा वडाध्यक्षले नै अवरोध सिर्जना गरेपछि निर्माणको काममा अवरोध भएको आरोप लागेको हो।
अवैध ढुङ्गा सङ्कलन गरिएका ढुङ्गा खरिद गर्नुपर्ने मनसाय राख्दै वडाध्यक्षले नै करिब एक किलोमिटर तटबन्ध निर्माणको काममा अवरोध गरेको स्थानीयले आरोप लगाएका छन् । स्थानीय रघुवीर भट्टले वडाध्यक्ष नरेन्द्रबहादुर बोहरा ठेकेदार भएको बताउँदै बोहराले विगतदेखि नै प्राकृतिक सम्पदाको दोहन गरेर लाभ लिँदै आएको बताए। वडाध्यक्ष निर्वाचित भएपछि आफ्नो भाइलाई अगाडि सारेर उनले खोलाबाट ढुङ्गालगायत वस्तु निकाल्ने गरिएको उनको भनाई छ।
वडाध्यक्षले आफ्नो भाइको सहायताले ढुङ्गा तस्करी गरेर सामुदायिक वनभर ढुङ्गा थुपारेको सजिलै देख्न सकिने रघुवीरले भने। उनले सबै जना वडाध्यक्षबाटै परिचालित रहेको र वडाध्यक्ष बोहरा बिगत देखी नै ढुङ्गा गिट्टी थुपार्ने र खोला बन्द भएको बेला बेच्ने धन्दा चलाएको आरोप उनले लगाए। पालिकाले टेन्डर खोलेर रोयल्टी सङ्कलन गर्दा मापदण्डविपरीत उत्खनन हुँदा खोला कुरूप बन्नेदेखि गाउँमा बाढी, विपत्का घटना हुन सक्ने सम्भावना बढेको छ। ट्याक्टर धनी, ठेकेदारले वडाध्यक्षको संलग्नतामा नदी खोला अवैध ढुङ्गा सङ्कलन एवं नदी खोला दोहन गर्न लगाइरहेको आरोप स्थानीयको छ।
वडाध्यक्ष बोहराले कुनै ठेकेदारलाई ढुङ्गा लैजान दिएको र कसैलाई रोकिरहेको स्थानीयको भनाई छ। स्थानीय भानबहादुर महराले कटानीको उच्च जोखिममा रहेको ठगुरी टोलमा एमडी ग्रुप निर्माण सेवाले तटबन्ध निर्माण गरिरहेका बेला वडाध्यक्षले तटबन्धको काममा खटिएका ट्याक्टरलाई रोकेर प्रहरीलाई बुझाएको र ढुङ्गा लग्न नदिएको उनले बताए । खोला नदीनाला बन्द गरिएपनि बगुन, साजगाडलगायतका खोला नदीमा गैरकानुनी रूपमा ग्राभेल, ढुङ्गा उत्खनन (चोरी, तस्करी) भइरहेको बताए। बगुन खोला दोहन गर्ने ट्याक्टरलाई हामीले नियन्त्रणमा लिन खोज्दा उल्टै धम्की आउने गरेको उनले बताए ।
यता वडाध्यक्ष बोहराले आफुले त्यस्तो काम नगरेको दाबी गरेका छन् । सबै काम भाइले गर्ने भएकाले के गर्ने, कसरी चल्ने, कि त घुस खान प¥यो, कि केही काम गर्न प¥यो, भाइले ठेक्कापट्टालगायतका मेरो काम पनि हेर्ने गरेको छउनले भने। तटबन्ध निर्माणको ठेक्का लिएको निर्माण कम्पनी एमडी ग्रुपले भने वडाध्यक्ष बोहराले आफूले जम्मा गरेको ढुङ्गा नकिनेका कारण तटबन्ध निर्माणको काममा अवरोध गरिराखेको आरोप लगाएको छ। एमडी ग्रुपका सञ्चालक अमर मल्लले हामीले काम गर्न खोज्दा वडाध्यक्षले प्रहरी लगाएर काममा अवरोध गराउँदै आएको बताए।
उनले यसै खोलाको तटबन्धको काम गरिरहेको र अरूले ढुङ्गा उत्तिकै पनि उठाइरहेको बताए। अनी फेरी विपत्को काम भएकाले यहीँको ढुङ्गा प्रयोग गर्न नदिने भन्ने गरेको बताए। उनले ७० प्रतिशत काम पूरा भए पनि वडाध्यक्षको अवरोधले काम रोकिएको गुनासो गरे। वडाध्यक्ष बोहराले आफ्नो काममाथि अवरोध गरिरहेको मल्लको दुःखेसो छ।वडाध्यक्ष बोहराले विगतमा आफू ठेकेदार भएपनि अहिले जनप्रतिनिधि भएकाले कुनैपनि ढुङ्गा सङ्कलन र जम्मा नगरेको उनको भनाइ छ। असार १ देखि बर्सातका कारण जिल्लाका नदी र खोलामा उत्खनन कार्य बन्द गरिएको छ तर वेदकोटको बगुन खोलामा गैरकानुनी दोहन भइरहेको बताइएको छ।