अछाम। अछामका एक युवकसहित ९ जना करिब ५३ लाख नक्कली रुपैयाँसहित पक्राउ परेका छन्। प्रहरीले साउन २५ गते बिहीवार (हिजो) लुम्बिनीबाट काठमाडौं जाँदै गरेको लु१प५ नम्बरको हरियो नम्बर प्लेट भएको पर्यटक बस नागढुंगामा चेकजाँच गर्दा ३५ लाख ७३ हजार रुपैयाँ बरामद गरेको हो।
चेकजाँचका क्रममा बसको डिक्कीमा राखेको चाउचाउको कार्टुनमा एक हजार दरका तीन हजार ५७३ थान नक्कली नोट फेला परेको हो। सोधपुछका क्रममा बसका चालक तथा सहचालकले प्रहरीलाई उक्त कार्टुन लुम्बिनी बसपार्कबाट अचार भनेर पठाएको बताएका थिए। त्यसकै आधारमा खोजतलास गर्दा गोंगबु बसपार्क र भक्तपुरको चाँगुनारायण नगरपालिका–४ चाँगु बुढाथोकी गाउँबाट थप १७ लाख दुई हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
चाँगु बुढाथोकीगाउँस्थित ४० वर्षीय अर्जुन सुवेदीको डेरामा छापा मार्दा नोटसहित नोट बनाउन प्रयोग गरिएको सामान बरामद भएको हो। पक्राउ पर्नेहरुमा अछाम घर भई हाल काठमाडौँको मातातीर्थ बस्ने २३ वर्षीय अर्जुन बुढा, सिन्धुपाल्चोक बलेफी नगरपालिका–७ घर भई चाँगुनारायण नगरपालिका–४ बुढाथोकी गाउँ बस्ने ४० वर्षीय अर्जुन सुवेदी, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ घर भई काठमाडौं मुलपानी बस्ने २१ वर्षीय मिलन भण्डारी, २३ वर्षीय श्रीकृष्ण भण्डारी छन् ।
त्यस्तै सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ घरभई पेप्सीकोला सनसिटी बस्ने २६ वर्षीय सुशील कार्की, सोही स्थानका ३२ वर्षीय शिव भण्डारी, नवलपरासी पश्चिम सरावल गाउँपालिका–१ की ३५ वर्षीया पार्वती नेपाली छन्। त्यस्तै, गुल्मी मुसीकोट नगरपालिका–२ वडागाउँ घर भई सामाखुसी बस्ने २७ वर्षीय सागर आचार्य,झापा घर भई सामाखुशी बस्ने २४ वर्षीय युवराज राई छन् ।प्रहरीले उनीहरुको साथबाट १ हजार दरको नेपाली जाली नोट १ हजार ५०० थान (१५ लाख रुपैयाँ बराबरको नक्कली नोट), कलर प्रिन्टर १ थान, कम्प्युटर १ थान (सेट), मोबाइल १२ थान बरामद गरेको भक्तपुर प्रहरी प्रमुख एसपी प्रजित केसीले जानकारी दिए।
प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग चाँगुनारायणबाट खटिएको प्रहरी टोलीले उक्त नक्कली नोट सहितको सामग्री फेला पारेको हो । पक्राउ पर्को व्यक्तिहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि वृत्त थानकोटमा राखिएको एसपी केसीले बताए । प्रहरीका अनुसार सुवेदीको डेरामा उक्त गिरोहले नक्कली नोट छाप्ने कार्य समेत गर्दै आएका थिए । प्रहरीले सो कोठाबाट कलर प्रिन्टर एक थान, कम्प्युटर एक थान, मोबाइल १२ थान र चार स्कुटरसमेत बरामद गरेको छ । प्रहरी टोलीले रुपैयाँसहित ९ जनालाई पक्राउ समेत गरेको छ । उनीहरू नक्कली नोट कारोबारमा संलग्न भएको आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।