धनगढी। बैतडी समाज कैलालीले ११ बृहत रक्तदान कार्यक्रम तथा खीर खाने कार्यक्रमको आयोजना गर्ने भएको छ। भदौ २७ गते धनगढीको पदमा नर्सिङ कलेजसँगै रहेको समाजको सचिवालयको प्राङ्गणमा रक्तदान तथा खीर खाने कार्यक्रम गर्ने तयारी भएको रक्तादान संयोजक राज बहादुर चन्दले जानकारी दिए।
बैतडी समाज कैलाली रगतको अभावका भएका बेला रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ। समाजले हरेक वर्ष कम्तीमा पनि दुई वटा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । यसअघिका १० वटा रक्तदान कार्यक्रममा ९ सय ५ जना रक्तदाताले रगत दान गरेका थिए। ‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ समाजले रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको समाजका अध्यक्ष मायाप्रकाश भट्टले जानकारी दिए।
‘यसपाली पनि रक्तदान र खीर खाने कार्यक्रमको आयोजना गरिने भएको छ। सबैजनालाइ रक्तदानमा बढीभन्दा बढी सहभागिताका लागि अनुरोध गर्दछु’ अध्यक्ष भट्टले भने। उनले रगत दिन नमिल्ने नगरबासीलाई पनि खीर खानका लागि आई दिन अनुरोध गरेका छन। बैतडी समाज कैलालीले हरेक वर्ष बैतडीका ग्रामीण र दुर्गम भेगमा स्वास्थ्य शिविरको पनि आयोजना गर्दै आएको छ । यसअघि समाजले बैतडीको पाटन र मेलौलीमा दुई वटा बृहत स्वास्थ्य शिविरको आयोजना सम्पन्न गरिसकेको छ। बैतडीको पाटनमा आयोजना भएको स्वास्थ्य शिविरमा ३२ सय जना र मेलौलीमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ५७ सय ६० जनाले स्वास्थ्य जाँच गराएका थिए।