काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्। शर्मालाई सीआईबीले पक्राउ गरेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जनाएका छन्।प्रहरीले भने केही बताउन चाहेको छैन।
केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले यसबारे आफूले सिआइबीसँग बुझ्दै रहेको प्रतिक्रिया दिएका छन्। कांग्रेस सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशरण महतमाथि नै अनुसन्धान गर्नुपर्ने भन्दै आएका शर्मालाई पक्राउ गरिएकोमा कांग्रेसकै नेताहरुले संशय व्यक्त गरेका छन्। शर्मालाई सिआइबीले पक्राउ गरेको भन्दै कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सरकारमाथि प्रश्न उठाएका छन्।
शर्मालाई प्रहरीले गल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो। यसैबीच गृह मन्त्रालय स्रोतले सांसद शर्मालाई नक्कली प्रमाणपत्र प्रकरणमा अनुसन्धान गर्न पक्राउ गरिएको बताएको छ। स्रोतका अनुसार शर्माविरुद्ध लोकमानसिंह कार्की अख्तियार प्रमुख भएकै बेलादेखिको नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दा थियो। सोही मुद्दामा अनुसन्धान गर्न पक्राउ गरिएको बताइएको छ। तर कांग्रेस नेताहरूले भने गृह र अर्थमन्त्रीको आलोचना गरेका कारण प्रतिशोधन साँध्ने हिसाबले शर्मालाई पक्राउ गरिएको आरोप लगाएका छन्।
भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो। उक्त प्रमाणपत्रका आधारमा उनले एमबीबीएस अध्ययन गरेका थिए। उनी मेडिकल कलेज सञ्चालक पनि हुन् । उनी मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित कांग्रेस सांसद हुन्। शर्मा कांग्रेस नेता शेखर कोइराला पक्षका मानिन्छन्।