अछाम। अछामको धार्मिक आस्थाको केन्द्र मानिने कुईकाल्ले देवीको मूर्ति गायब भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-८ बारलामा रहेको मन्दिरबाट मूर्ति गायब भएको वडा अध्यक्ष छत्रबहादुर शाहीले जानकारी दिए।
जिल्लाकै प्रमुख धार्मिक आस्थाको रूपमा हेरिने कुईकाल्ले भगवतीको मन्दिरमा गत वर्षको जनैपूर्णीमाको दिन पूजापाठ गरेर फर्किँदासम्म मन्दिरमै रहेको मूर्ति एक वर्षको अवधिमा गायब भएको हो । मन्दिरका मूल पुजारी कमल आचार्यका अनुसार गत वर्षको जनैपूर्णीमाको दिनसम्म मन्दिरमा भएको मूर्ति अहिले नभेटिएको हो ।दुई वटा मूर्ति रहेको उक्त मन्दिरमा हाल एउटा मात्र मूर्ति छ । मूर्ति चोरी भएको हुनसक्ने स्थानीयको आशङ्का छ।
ढुङ्गाको कलात्मक रूपमा बनाइएको ऐतिहासिक मूर्ति हराएको हो ।मूर्तिको खोजिकार्य सुरु भएको पूर्व वडाध्यक्ष ताराप्रसाद खनालले बताए । मूर्ति हराएको विषयमा प्रहरीलाई कुनैपनि जानकारी नआएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए । उक्त मूर्ति आजभन्दा १३० वर्ष पहिले पनि हराएको थियो । स्थानीय सर्जनबहादुर शाहीले वि.स. १९५० सालमा हराएको मूर्ति ६ वर्षपछि १९५६ सालमा मन्दिर नजिकैको पानीको तलाउमा भेटिएको बताए ।कुईकाल्ले देवीलाई यस क्षेत्रमा ठुलो विश्वास गर्ने गरिन्छ । बाजुराको बडी मालिकाकै अंशको रूपमा उक्त मन्दिर चिनिँदै आएको छ।