अत्तरिया । नेपाली काँग्रेस कैलालीले युवा नेता लोकराज पाण्डे ‘आगो’ लाई पार्टीले कारवाही गरेको छ। कैलालीको गेटामा निर्माणधिन स्वास्थ्य विद्यालयको मुद्धा उठाउँदै आएका युवा नेता आगोलाई पार्टीले नेतृत्वका विरुद्ध बोलेको भन्दै कारवाही गरेको काँग्रेस निकट स्रोतले जनाएको छ।
‘आगो मेडिकल विश्वविद्यालयको मुद्धा उठाई रहेका व्यक्ति हुन’ पार्टी स्रोतले भन्यो । ‘एकतिर विश्वविद्यालयको मुद्धा उठाई रहने अर्को तिर नेतृत्व माथि तथानाम गाली गरेपछि अनुशासन कारवाही गरेको हो ।’आगो गेटामा ६ सय बेड सहितको मेडिकल विश्वविद्यालयको माग राख्दै आन्दोलनमा होमिएका व्यक्ति हुन्। उनकै नेतृत्वमा गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनार्थ समिति गठन गरिएको थियो । नेता आगोले पनि आफुले गेटा विश्वविद्यालयको मुद्धा उठान गर्दा पार्टीको कारवाही भोग्नु परेको बताएका छन्।
‘पार्टी नेतृत्वले गेटामा विश्वविद्यालय चाहिदैन्। मेडिकल विश्वविद्यालयको आन्दोलनमा लाग्ने व्यक्ति गलत भनेपछि मैले एक स्ट्याटस पोष्ट गर्दा कारवाही गरेको हो’ आगोले भने । ‘यस अघि पनि पटक–पटक कारवाही गर्न खोजेको हो । अहिले एक स्ट्याटस हालेकै भरमा पार्टीबाट हटाएको छ ।’ आगो काँग्रेसको जिल्ला सदस्य, क्षेत्रिय सभापति, श्रम विभाग लगागत विभिन्न पदमा बसी सकेका व्यक्ति हुन् । अहिले पनि पार्टीको भातृसंगठन दरुण दलको सदस्य रहेका छन्। पार्टीले उनलाई लेखेको पत्रमा जिल्ला कार्यसमितिले महत्वपूर्ण पदीय जिम्मेवारीमा बसेर पार्टी हितको बर्खिलाप सार्वजनिक रुपमा अभिव्यक्ति दिएको भन्दै अनुशासनको कारबाही गरिएको दावी गरिएको छ।
पार्टी हितको बर्खिलाप, पार्टीको पदीय जिम्मेवारीमा रहेका नेता कार्यकर्ताको मानहानी हुने गरी सार्वजनिक अभिव्यक्ति दिने गरेको र सामाजिक सञ्जालमा तथानाम अभिव्यक्ति दिने गरेको देखिएको जिल्ला कार्यसमितिले जनाएको छ । उनलाई अनुशासनको कारबाही गर्दै पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको छ । यस्तै गरी पार्टीले क्षेत्र नम्बर ४ क्षेत्रीय प्रतिनिधि सुरतबहादुर कार्कीलाई कारवाही गरेको छ । पार्टी निकट स्रोतका अनुसार उनलाई सुदूरपश्चिम काँग्रेस महामन्त्री समेत रहेका नेता नरनारायण शाह ‘मुनु’ लाई भेट्दा कारवाही गरेको पार्टी स्रोतले जनाएको छ । पार्टीले जारी गरेको पत्रमा भने पार्टीको हितविपरित कार्य गरेको भन्दै साधारण सदस्य नरहने गरि कारबाही गरिएको कांग्रेस जनाएको छ।
यस विषयमा काँग्रेस कैलालीका उपसभापति भिम बडुवालले असमती जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले फेसबुकमा लेखेका छन् । ‘कैलालीका नाममा आएको यो निर्णयमा मेरो सहमती छैन । यो विषयमा म लगायत जिल्ला कार्यसमिति, कार्यसम्पादन समिति र पदाधिकारी कसैसङ्ग पनि सल्लाह भएको छैन। बिना सल्लाह, बिना आधार, बिना प्रमाण र बिना तथ्य कसैसङ्ग पुर्बाग्रह राखेर गरिने निर्णय पार्टीको निर्णय मानिने छैन । कार्बाही गरिदा अनुशासन समितिको पुर्ण सहमतिले गर्नु आवश्यक छ। साथै उभियुक्तलाइ आफ्नो प्रतिबाद गर्ने मौका पनि दिनुपर्दछ । यो कारवाहीको सन्दर्भमा उनीहरु दुबैजनालाइ स्पस्टीकरण समेत सोधिएको छैन। आफ्नो स्पष्टीकरण राख्ने अवसर समेत दिइएको छैन। जिल्ला कार्यसमिति भित्र अनुशासन समिति पनि रहेको र त्यो समितिको सहमति पनि अनिवार्य रुपमा लिनुपर्ने सामान्यज्ञान पनि नराखी गरिएको कावाहीप्रती मेरो पूर्णरुपमा असहमति रहेको जानकारि गराउदछु। अर्को एउटा कुरा के हो भने जिल्ला कमिटीलाई कार्बाही होइन कार्बाहिको सिफारिस गर्ने अधिकार मात्रै हो, त्यसकारण सो कार्बाही तत्काल फिर्ता लिन म अनुरोध गर्दछ।’ यस्तै, गरी पार्टीका सचिव नृप सुनारले पनि कार्वाहीका सन्दर्भमा पार्टीको कुनै बैठक नबसेको आफुलाई जानकारी समेत नगराएको बताएका छन्।