धनगढी। धनगढीको प्रसिद्ध सुपरमार्केट भाटभटेनीमा क्यामेरावालाको आतंक बढेको पाइएको छ। धनगढीमा भाटभटेनी खुलेदेखि उपभोक्ताको रोजाई घुम्ने जानका लागी त्यहाँ पुग्ने गरिएपनी क्यामेरावालाको आतंकमा सेवाग्राही पर्न थालेका हुन्।
धनगढीको भाटभटेनी ललिता निवास प्रकरणमा मुछिएर पक्राउ परेपछि हिरासतमा रहेका मीनबहादुर गुरुङ नै संचालक हुन् । भाटभटेनीमा प्रबेश गरेपछि त्यहाँ १ दर्जन बढी क्यामेराधारी भेटिने र उनीहरुले रकमसमेत असुल्ने गरेको गुनासो सेवाग्राहीले गरेका थिए। क्यामेरावालाले सेवाग्राहीको कम्तिमा ५ तस्बिर खिचाउनैपर्ने, फोटो खिचेवाफत १०० रुपैयाँका भन्दा बढी रकम असुल्ने र र एउटा भिडियो खिचेको २०० देखि ५ सयसम्म लिने कार्य गर्दै आएका थिए। यो कार्य क्यामेरावालाहरूले भाटभटेनीसँगको सेटिङमा सेवाग्राहीको फोटो र भिडियो खिच्ने गरेर असुली धन्दाजस्तै चलाएका थिए।
जसका कारण सेवाग्राहीले अनावश्यक दुख पाएको र लुट मच्चाएको गुनासोसमेत गरेका थिए। भाटभटेनीको बाहिर (परिसर) तथा भीडभाड हुने क्षेत्रमा क्यामेरावाला सेवाग्राहीलाई घेरीरहन्थे । भाटभटेनीको सुरक्षा स्रोतका अनुसार अहिले सो क्षेत्रमा क्यामेरा म्यानहरुलाई प्रतिबन्ध नै लगाइएको छ। दैनिक उनीहरुकै कारण लफडा हुने र एक क्यामेराम्यानको टाउको फुटेको घटना प्रहरीसम्म पुगेपछि प्रतिबन्ध लगाइएको हो। हालै केही साता अघि धनगढी उपमहानगरपालिका–१३ घर भएका क्यामेराम्यान १८ बर्षिय दिपेन्द्र बिकको भाटभटेनीमै विवाद भएपछि झगडा हुँदा टाउको नै फुटेको थियो।
साउन ९ गते फोटोको विषयमा विवाद भएर झगडा भएपछि केटाहरुको समूहले बिकमाथि बियरको बोतलले प्रहार गरेको र उनको टाउकोमा चोट लागेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले कुटपिटको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार बिकको मायामेट्रोमा उपचार गरिएपछि अहिले डिस्चार्जसमेत भैसकेका छन्। धनगढीस्थीत भाटभटेनी अगाडी फोटो खिच्न तथा टिकटक बनाउन प्रतिबन्ध लगाइएको बताइएको छ। तर यो क्रम भने अझै रोकिएको छैन् । यस्तै बिषयमा भाटभटेनीमा एक महिनाको दौरानमा कम्तिमा १५ दिन लफडा हुने गरेको र भित्रै चक्कुसमेत बोकेर केटाहरुको ग्याङ जाने गरेको बताइएको छ।
भाटभटेनीको खुकुलो सुरक्षा व्यवस्था र म्यानेजरको लापरबाहीका कारण लफडा भैरहने गरेको हो। राजपुर प्रहरीका प्रमुख असई बहादुरसिंह ऐरीले पछिल्लो समय भाटभटेनीमा विवादका घटना बढ्दै गएको र अहिले आफ्नो टोलीले निरन्तर गस्ती बढाएको बताए। भाटभटेनी क्षेत्रभित्र र आसपासमा अहिले प्रहरीले निगरानी समेत गर्ने गरिएको उनले बताए । भाटभटेनीमा कार्यरत एक कर्मचारीले भाटभटेनीमा पहिलेदेखि क्यामेराम्यानहरुको आतंक रहेकोमा अहिले प्रतिबन्ध लगाइएको बताए । एक जनाको टाउकै फुट्नेसम्मको घटना घटेको भन्दै उक्त घटना भाटभटेनीबाहिर रोडमा भएको बताए ।
यस्तै भाटभटेनी धनगढीकी म्यानेजर कमला दाहालले भाटभटेनीमा लफडा भएको र क्यामेरा आतंकको विषयमा बोल्न मानिनन् । त्यहाँ भएको कुनै पनि विवादको घटना आफूलाई थाहा नभएको भन्दै पन्छीने प्रयास गरिन् । प्रहरीले आएर विवाद समाधान गर्ने गरेको कुरा पनि थाहा नभएको भन्दै सो विषयमा अनभिज्ञता जनाएकी छिन् ।