धनगढी। कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। कैलालीको गौरीगंगा नगरपालिका–८ की २३ वर्षीया अनिता चौधरीको ट्रकको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार सोमवार मध्यराति १२ बजे घरबाट भागेकी चौधरीको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ।राति करीब २ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका–८ कै बडैपुरमा बागमती प्रदेश ०३००१ ख १२७५ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक बासुदेव भट्टले ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी चौधरीको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिए।
महिलालाई ठक्कर दिएर भागेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले ट्रक र चालक सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ को ३० वर्षीय होमबहादर रानामगरलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको हो। भागेको चालक र ट्रक प्रहरीले सोमवार १२ बजेदेखि २ बजेसम्म पूर्वपश्चिम राजमार्गमा चलेका ट्रक नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा पत्ता लागेको थियो। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।


