धनगढी : बैतडीमा औषधी भनेर दिएको झोलाभित्र सुन भेटिएको छ । बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा सुन भेटिएको हो । काठमाण्डौबाट दार्चुलाका लागि आइरहेको सुपप्र ०२००१ ख १३०१ नम्बरको बसबाट छाडिएको केही सामाग्रीमा आइतबार बिहान सुन फेला परेको हो ।
खोडपे प्रहरी चौकीको चेकपोष्टमा बसका स्टाफहरुले सामान छोडेको र उक्त सामानमा सुन फेला परेको प्रहरीले जनाएको छ । पाटन–८ का एक स्थानीयका आफन्तले काठामाण्डौबाट औषधी पठाएको बुझिएको छ । त्यो औषधी भनिएको वस्तु मध्येको एक प्याकेट खोलेर हेर्दा सुन भेटिएपछि चेक पोष्टमै राखेका थिए ।
सुन फेला परेपछि इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमलप्रसाद चौधरी नेतृत्वको टोलीले अनुसन्धान गर्दा प्याकेटमा सुन फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । ८३ ग्राम ५२० मिलिग्राम (करिब ७ तोला अढाइ आना) परिमाणको सुन भेटिएको र बिल समेत नरहेको पाइएपछि बरामद गरेर इलाका प्रहरी कार्यालय पाटनमा सुरक्षित राखिएको प्रहरी निरीक्षक जोशीले बताए ।
सुन भेटिएको प्याकेटमा बिल नभेटिएको हुनाले सुनको वैधानिकता माथि शंका गरिएको छ । सुन कसको हो कहाँबाट कसरी आयो भन्ने कुराको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।