धनगढी। नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको छ। आज आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले नेताहरुको कार्यविभाजन टुंग्गो लगाउँदै प्रदेशमा नयाँ इन्चार्ज तोकेको छ।
जस अनुसार नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका लागि नयाँ इन्चार्ज तोकेको छ। जसअनुसार सुदूरपश्चिमको इन्चार्जमा डिलाराम आचार्य तोकिएका छन्। यसअघि सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज थिए।
केन्द्रीय कमिटीको चौथो पूर्ण बैठककाबिच प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारीको जिम्मेवारी हेरफेर गरेका हुन्।
त्यस्तै वाग्मती प्रदेश इन्चार्जको जिम्मा जनार्दन शर्माले पाएका छन् भने वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मा दिइएको छ। त्यस्तै कोशीको इन्चार्जमा लिलामणि पोखरेल, मधेशको इन्चार्ज देवेन्द्र पौडेल, कर्णालीको इन्चार्ज चन्द्रप्रकाश खनाल तोकिएका छन्।बैठकले अध्यक्ष प्रचण्डलाई समग्र पार्टीको जिम्मेवारी दिएको छ। उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मा दिइएको छ। अर्का उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार प्रसारको जिम्मेवारी दिएको छ। यसैगरी पम्फा भुसाललाई जनवर्गीय संगठन हेर्ने जिम्मा दिइएको छ।