धनगढी। धनगढी उपमहानगरपालिका कार्यालयको परिसरमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका कार्यालयको परिसरमा जडान गरिएको विद्युतीय सवारी चार्जिङ स्टेशन आज आइतबार देखी सञ्चालनमा आएको हो।
आइतबार धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले चार्जिङ स्टेशनको एक कार्यक्रमका बीच उद्घाटन गरेकी हुन् । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो।नगरप्रमुख गोपाल हमालले धनगढीमा विद्युतीय सवारीसाधन प्रयोगमार्फत् वातावरणमैत्री यातायात प्रणालीको विकासमा चार्जिङ स्टेशन निर्माणले ठूलो टेवा पुग्ने बताए। चार्जिङ स्टेशनमा एक सय ४० किलोवाट क्षमताको चार्जर रहेको छ। चार्जिङ स्टेशनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जर राखिएको छ।
सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन्। चार्जिङ स्टेशनमा पेट्रोलपम्पमा जस्तो मान्छे बसेर सेवा दिइरहनु पर्दैन। चार्जिङ स्टेशनमा पुगेर गाडी चार्ज गर्नुअघि सवारीधनीले कार्ड स्वाइप गरेर पैसा तिर्नुपर्छ।कति मिनेटसम्म वा कति रुपैयाँसम्मको चार्ज गर्ने हो त्यसैअनुसार पैसा काटिन्छ र गाडी चार्ज हुन्छ। समय वा पैसा बराबरको चार्जिङ पूरा भएपछि उक्त गाडी थप चार्ज हुँदैन। बिहान र राति चार्ज गर्दा १० रुपैयाँ ४४ पैसा प्रतियुनिट, दिउँसो ८ रुपैया २८ पैसा प्रतियुनिट र राति ११ बजेपछि ६ रुपैयाँ चार्ज शुल्क तोकिएको छ।