धनगढी। जिल्ला अदालत कैलालीमा दैनिक पेशी सुचिमा प्रकाशन भएका मुद्धाको मिसिल र प्रमाण भएका मिसिल ब्यवस्थापन नगरेको पाइएको छ । ब्यवस्थापन नगरिदा कैलाली जिल्ला अदालतका ३ सय ९० मिसिल किराले खाइदिएको भेटिएको छ।
जिल्ला अदालत कैलालीका अनुसार २४ हजार ९ सय ४० मिसिलमध्ये तीन सय ९० मिसिल काम नलाग्ने अवस्थामा रहेको बताइएकोे छ । जिल्ला अदालतका श्रेस्तेदार मानबहादुर विष्टले २४ हजार पाँच सय ५० मिसिल नयाँ प्रविधि अनुसार सफ्टवेयरमा राखिएपनि बाँकी तीन सय ९० मिसिल राख्न नसकिने अवस्थामा रहेको बताए।
सर्वोच्च अदालतले समेत हेर्न मिल्ने गरेर मिसिलहरु इन्टरनेटमा सुरक्षित राख्ने काम जिल्ला अदालत कैलालीले गर्दै आएको छ। उनका अनुसार कैलाली जिल्ला अदालतले २००५ माघ १२ गते पहिलो मुद्दा दर्ता गरेको थियो। २००७ फागुन १२ गते पहिलो मुद्दाको फैसला भएको थियो। दर्ता नम्बर १/३ को उक्त मुद्दापछि मात्र २४ हजार ९ सय ४० मिसिल जिल्ला अदालत कैलालीमा रहेका छन्।