कञ्चनपुर। कञ्चनपुरमा करिब एक सातादेखि सम्पर्कविहीन भएका कुवेर दमाईको शव शुक्रबार खाडलभित्र फेला परेपछि हत्या भएको खुलेको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका- २ बाणी नदी किनारमा माटोमा पुरिएको अवस्थामा फेला परेका कुवेरको उनकै नातेदारले हत्या गरेको खुलेको हो।
प्रहरीले मृतक कुवेरका सहोदर भतिज नाता पर्ने २२ बर्षीय अजय दमाई र सहोदर भान्जा नाता पर्ने २८ बर्षीय हरिश दमाइले वादविवाद हुँदा उनको हत्या गरेका हुन ।घटनाको दिन मृतक कुवेर संगै उनका नातेदार अजय र हरिश घरायसी कुरा र मादक पदार्थ सेवन गर्न नदी किनारामा गएका थिए । नदी किनारमा मादक पदार्थ सेवन गर्दै गर्दा वादविवाद भएपछि घटना भएको कञ्चनपुर प्रहरीले गरेको अनुसन्धानबाट खुलेको छ।
सोही क्रममा मृतक कुवेरलाई अजय र हरिशले हात, लात र सोही बगरमा रहेका ढुंगाले समेत टाउको, अनुहार हिर्काउदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।कुवेरको मृत्यु पछि अजय र हरिशले घटना लुकाउन सोही स्थानमा खाडल खनेर पुरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। प्रहरीले घटनास्थल नजिकैबाट मृतकले प्रयोग गर्ने कालो रङ्गको चप्पल र मृतकले लगाउने गरेको रातो सेतो कालो रंगको चेक सर्ट फेला परेको थियो।
मृतक कुवेर साउन १५ गतेदेखि बेपत्ता रहेका थिए । प्रहरीका अनुसार मृतक कुवेर यसअघि पनि घरबाट हराइरहने भएकाले त्यती वास्ता गरिएको थिएन। मृतक कुवेरको साउन १८ गते शव फेला परेको थियो ।प्रहरीले घटनामा संलग्न रहेका पाइएपछि अजय र हरिशलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
कसरी पक्राउ परे हत्यामा संलग्न अजय र हरिश ? यस्तो छ प्रहरी बिवरण- मिति २०८० साउन १८ गते कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नंम्बर २ बाणी, बन्द नदीको बगरमा मानिसको लाश गाडिएको स्थानीयले प्रहरीलाई खवर गरे । खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी टोलीले उक्त स्थानमा खटियो। खोजतलास गर्दा तत्काल एकीन नामथर,वतन नखुलेको पुरुष मानिसको वेवारिसे लाश बगरमा गाडेको अबस्थामा भेटियो।
उक्तलाश सडेर दुर्गन्धित समेत भएको अवस्थामा रहेको प्रहरीले जनायो। सो लासलाई गाडीएको स्थानबाट बाहिर निकाली लाशजाँच मुचुल्का समेतको कार्यगरी घटनास्थलमा रहेका मानिसहरु लाई सोधपुछ गर्दा कञ्चनपुर कृष्णपुर नगरपालीका वडा नं. २ बाणी नवदुर्गा टोल बस्ने प्यारु दमाईको छोरा ३५ बर्षियको कुवेर दमाई (हले) भन्ने ब्यक्ती केही दिन देखि हराएको भन्ने खुल्न आयो । निजको घर परीवारलाई खवर गरी निजकी दिदी नाता पर्ने सत्या दमाई समेत घटनास्थलमा आई निज मृतक कुवेर दमाई (हले) नै रहेको भनि सनाखत समेत गरिन्।
त्यसपछि शव परीक्षणको लागि महाकाली प्रादेशिक अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ । मृतकको घर परिवारका सदस्यहरुलाई सोधपुछ गर्दा मृतक कुवेर दमाई (हले) मिति साउन १५ गते नै देखि घरबाट हराई बेपत्ता भएको जानकारी पाईएको हो । मृतक समय समयमा घरबाट निस्की १/२ दिन पश्चात घर फर्किने भएकोले तत्काल खोजतलासको लागि प्रहरीमा जानकारी नगरेको भन्ने निजकी आमा प्रेमजला दमाईबाट खुल्न आएको थियो । मिति साउन १९ गते अर्थात् हिजो शुक्रबार ईलाका प्रहरी कार्यालय झलारीबाट पुनः खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दा कृष्णपुर नगरपालीका वडा नं. २ बाणी बस्ने भरत दमाईको छोरा मृतकको सहोदर भतिज नाता पर्ने २२ बर्षीय अजय दमाई र सोही ठाउँमा बस्ने भरत दमाईको छोरा मृतकको सहोदर भान्जा नाता पर्ने बर्ष २८ को हरिश दमाईलाई शंका लागि निज दुवै जनालाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । प्रारम्भिक सोधपुछ गर्दा मृतक कुवेर दमाई (हले) घरमा आमा वुवालाई दुख हैरानि दिने गरेका थिए ।
घरमा रहेका सामानहरु समेत बेचि मादक पदार्थ सेवन गर्ने समेत भएकोले मिति साउन १५ गते राति १० बजे मृतक कुवेर दमाईको भतिज नाता पर्ने अजय दमाई र मृतकको भान्जा नाता पर्ने हरिश दमाई सोही विषयलाई लिई घरायसी कुराकानी भएको थियो । साथै मादक पदार्थ समेत सेवन गर्न बन्द नदीको बगरमा गएका र मादक पदार्थ समेत सेवन गरी घरायसी कुरा गर्दै निज मृतकलाई सम्झाई बुझाई गर्ने क्रममा
१५ गते राती ११ बजेको समयमा मृतकसँग अजय दमाई र हरिश दमाईको वादविवाद भएको खुल्न आएको प्रहरीले जनाएको छ । सोही विवादको क्रममा मृतक कुवेर दमाईलाई अजय दमाई र हरिश दमाईले हात,लात र सोही बगरमा रहेका ढुंगा समेतले टाउको, अनुहार समेतका शरिरका भागहरुमा हिर्काउदा कुवेर दमाईको घटनास्थलमा मृत्यु भएको हो । मृत्यु भए पश्चात कोही कसैले थाहा जानकारी नपाउन भनि निजको लास सोही स्थानमा खाडल खनि खाडलमा पुरी दिएको प्रहरीको भनाई छ । प्रारम्भिक सोधपुछ अनुसार घटनास्थल बगरबाट ५० मिटर पूर्व तर्फ कालो रङ्को मृतक कुवेर दमाईले लगाउने गरेको दाहिने खुट्टाको कालो रंगको चप्पल र मृतकले लगाउने गरेको रातो सेतो कालो समेत रंगको चेक सर्ट समेत फेला पारी वरामद गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेका अजय दमाई र हरिश दमाईलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।