कञ्चनपुर। कैलालीका ३ जना लागुऔषधसहित कञ्चनपुरबाट पक्राउ परेका छन्। कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ मालुबेलाबाट अर्जुन चौधरी, बेलौरी नगरपालिका ६ बैशाखापुलबाट बिवेक सापकोटा र सन्तोष चौधरी लागु औषधसहित पक्राउ परेका हुन्।
कैलाली जिल्लाको धनगढी उप महानगरपालिका ५ बस्ने २५ वर्षीय अर्जुन चौधरी ६० मिलिग्राम लागु औषध खैरोहेरोईन जस्तो देखिने धुलो पदार्थ सहित शुक्रवार साँझ पक्राउ परेका हुन् । उनलाई इलाका प्रहरी कार्यालय रैकवार कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै, कैलाली जिल्लाको गौरीगङ्गा नगरपालिका ८ बस्ने २१ वर्षीय बिवेक सापकोटा र धनगढी उपमहानगरपालिका ३ बस्ने २० वर्षीय सन्तोष चौधरी १ ग्राम ३५ मिलिग्राम लागु औषध खैरोहेरोईन जस्तो देखिने धुलो पदार्थ सहित शुक्रवार साँझ पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी १ थान स्कुटरसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुमाथी थप अनुसन्धान गरिरहेको छ ।