बैतडी। बैतडीमा सडकमाथिबाट खसेको ढुंगा लागेर जिल्लामा एक बालकको मृत्यु भएको छ । भने एक जना बालक घाइते भएका छन् ।
बैतडीको सिगास गाउँपालिका ४ रक्सौनका ९ बर्षीय रेशम विकको सडकमाथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो । सडक तलतिर बालबालिकाहरु खेलीरहेको अवस्थामा कच्ची सडकमाथिबाट एक्कासी ढुंगा खसेको थियो ।
शुक्रबार दिउँसो बालबालिकाहरु खेलीरहेको अवस्थामा देउलेक–कान्धार सडक अन्तर्गत गुरलधार भन्ने स्थानबाट खसेको ढुंगा लागेर रेशमको घटनास्थलमै मृत्यु भएको स्थानीय बल्देव विकले बताए ।कक्षा १ मा पढ्ने रेशम कलिलै उमेरमा अस्ताएपछि अहिले गाउँ शोकमा डुबेको छ । घरमा उनकी आमा मात्रै रहेको बताइएको छ । रेशमका बुवा दिपक लुहार भने रोजगारीको सिलसिलामा भारतमा रहेका छन् ।
मृतक रेशमकी आमा विक्षप्त भएकी छन् । एकमात्रै छोराको ढुंगा लागेर मृत्यु भएपछि उनी होसमा आउन सकेकी छैनन् । यस्तै ढुंगा लागेर सिगास गाउँपालिका ३ गजेडाका ७ बर्षीय अनिल चुनारा घाइते भएका छन् । मामा घर आएका चुनारापनि बालबालिकाहरुसंगै खेल्न गएका थिए । उनको धनगढीमा उपचार भइरहेको छ ।