धनगढी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय नेताहरू धनगढी आएका छन्। धनगढीमा शुक्रवार र शनिवार पार्टीका नेता तथा कार्यकर्ताहरूलाई दुई दिने पार्टी प्रशिक्षण दिन नेताहरू आएका हुन्।
केन्द्रीय उपसभापति डिपि अर्याल, सांसद गणेश पराजुली र विराजभक्त श्रेष्ठ, पूर्व बैंकर अनिलकेसरी शाह र सह महामन्त्री कबिन्द्र बुर्लाकोटी शुक्रवार धनगढी आएका छन् । धनगढी पुगेर राजपुरमा रहेको पार्टीको प्रदेश कार्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै रास्वपा उपसभापति अर्यालले पार्टी संसदीय मर्यादाको परिधिभित्र रहेर रचनात्मक प्रतिपक्षीको भूमिका खेली रहेको बताए।
उनले पार्टीले सरकारका गरेका राम्रा कामको समर्थन र नराम्रा कामको खबरदारी गरिरहेको बताएका छन्। उपसभापति अर्यालले आफ्नो पार्टीले विद्यमान संवैधानिक प्रावधानकै अधिनमा रहेर देशमा सुधारका काम गर्न सकिन्छ भन्ने मान्यता बोकेको बताए। रास्वपा सुदूरपश्चिम प्रदेश समितिले दुई दिनसम्म चल्ने प्रशिक्षणमा रास्वपा सुदूरपश्चिमका नेताहरूको सहभागिता रहने बताएको छ।


