कञ्चनपुर। कञ्चनपुरमा एक सातादेखि सम्पर्कविहीन भएका एक जनाको शव खाडलभित्र भेटिएको छ। प्रहरीका अनुसार कञ्चनपुरको कृष्णपुर नगरपालिका- २ वाणी नवदुर्गा टोलका स्थानीय कुवेर दमाईंको शव खाडलभित्र गाडिएको अवस्थामा भेटिएको हो।
गएराति बन्डनदीको किनार खाडलमा गाडिएको अवस्थामा दमाईंको शव निकालेर प्रहरीले पोष्ट मार्टमका लागि महाकाली प्रादेशिक अस्पताल लगेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले खाडलभित्र भेटिएको शव शंकास्पद रहेको बताए। खाडलभित्र भेटिएको शव कुहिएको अवस्थामा भेटाएको र थप अनुसन्धान अघि बढाएको बताए। बस्तीनजिकै रहेको खोलामा गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुन साउदले दमाई एकसातादेखि घर परिवारको सम्पर्कमा नरहेको बताए। भारतमा रोजगारी गर्दै आएका उनी घर आउजाउ गर्दै आएको वडाध्यक्ष साउदले बताए। उनले घटना रहस्यमय भएकाले गम्भीर अनुसन्धान हुनुपर्ने भन्दै दोषिलाई कारबाहीको माग गरेका छन्। यस्तै स्थानीयले हत्याको आशंका गर्दै घटनाको सत्यतथ्य छानबिन सहित दोषिमाथी कारबाहीको माग गरेका छन् । मृतकको घरनजिकै शव भेटिएकाले आफन्त एवं नजिकका व्यक्तिले हत्या गरेको आशंका प्रहरीले गरेको छ।