दार्चुला। नेपाली भूमि कालापानी क्षेत्रमा भेडा चराउन गएका नेपाली युवकको मृत्यु भएको छ। भेडाबाख्रा चराउन गोठाला गएका दार्चुला नौगाड ३ दल्लेकका १९ वर्षीय विनोद ठगुन्नाको मंगलबार ढुंगा लागेर मृत्यु भएको हो।
विनोदको ढुंगा लागेर मृत्यु भएको भए पनि मृतकको शरीरमा कुनै चोटपटक नभएको आफन्तले बताएका छन्। स्थानीय मानसिंह मन्यालका अनुसार मृतकका बुबा अंगविरसिंह ठगुन्नालगायत आफन्तहरू घटनास्थलतर्फ गएका छन् । उनले घटनास्थलको फोटो प्राप्त भएको र मृतकको शरीरमा कुनै प्रकारको चोटपटक देखिएको छैन ।ढुंगा लागेर विनोदको मृत्यु भएको खबर आफन्तलाई भारतीय पक्षले बताएका छन् ।
मृतक विनोदले एक वर्षदेखि एक जना भारतीय व्यवसायीको दुई सयभन्दा बढी भेडाबाख्राहरू चराउने कार्य गर्दै आएका थिए । कालापानीभन्दा माथिल्लो क्षेत्रमा भेडाबाख्रा चराउन गएको अवस्थामा घटना भएको आफन्तले बताएका छन् । भेडाबाख्रा चराउन लेकाली फाँटमा गएका विनोद मंगलबार साँझसम्म बासस्थानमा नफर्किएपछि अन्य भेडाबाख्रा चराउनेहरूले खोजी गरेका थिए ।कालापानीमा रहेका एसएसबी र आईटीबीपीका सुरक्षाकर्मीहरूको सहयोगमा उनको खोजी गरिएको थियो। मंगलबार राति २ बजे विनोद मृत भेटिएको खबर आफन्तलाई भारतीय पक्षले जानकारी गराएका थिए । जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी तर्कराज पाण्डेयले घटनाबारे बुझिरहेको जानकारी दिएका छन्।